अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

बा-आमा घरको निर्माणको लागि सहयोगार्थ साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

सन्दिप खत्री २०७५ असोज २३ गते ७:३८ मा प्रकाशित

ललितपुर, एक्सन फर सोसल चेन्ज (बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र)ले सामाजिक एकताको लागि शुभकामना आदानप्रदान सम्मान साथै सहयोगात्मक सांस्कृतिक साँझ २०७५ भव्य रूपमा सम्पन्न गरेको छ। सडकपेटीमा कोही पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतको पहलमा एक्सन फर सोसल चेन्जले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हास्य व्यङ्ग्यात्मक सांस्कृतिक साँझ आयोजना गरेको हो। कम्तीमा ५०० जना उपस्थित भएको उक्त कार्यक्रम सोमबार साँझ ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरिएको थियो। आयोजक एक्सन फर सोसल चेन्जका अध्यक्ष बिनयजंग बस्नेतले कार्यक्रम भव्य र सभ्य रूपमा आयोजना भएको प्रतिक्रिया दिए। 

‘दसैँ नजिकदै गरेको भएता पनि अपेक्षा गरेको भन्दा बढी मानिस उपस्थित थिए।’ उनले भने, ‘यो कार्यक्रम सामाजिक अभियानको लागि सबै जना एकजुट हुनुपर्छ भन्ने अभियान र सन्देश थियो, अभियानमा एकजुट हुनुपर्छ भनेर सबै अतिथिको उपस्थिति रह्यो।’ कार्यक्रममा लागूपदार्थ विरुद्ध जनचेतनामुलक डकुमेन्ट्री ‘नदेखिएका आँसु’को प्रोमो समेत सार्वजनिक गरिएको थियो।

कार्यक्रमको सुरुमा गायक ईश्वर अमात्यले साङ्गीतिक प्रस्तुति दिएर कार्यक्रमको माहौल तताएका थिए । कार्यक्रममा रेसम थापा र गोविन्द धनरामले दोहोरी गीत मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए भने डिज राज पौडेलले आफ्नो चर्चित गीत गाएका थिए। कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलले हास्य व्यङ्ग्यात्मक प्रस्तुति समेत दिएका थिए । कार्यक्रममा होचा पुड्का सङ्घका कलाकार, पवित्रा लामा तथा स्थानीय महिला समाजसेवीहरूले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि तथा हाल अशक्त रहेका गायक बुद्धिकृष्ण लामिछानेलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमका अतिथि वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सामाजिक पुण्य कर्ममा बिनयजंग बस्नेतले देखाएको काम उदाहरणीय भएको बताए। बेवारिसेहरुको व्यवस्थापन तथा ससम्मान सद्गत गरी समाजसेवाको क्षेत्रमा नौलो आयाम अन्तर्गत उनले गरेको कामको खुलेर तारिफ गर्दै आजकल केही एनजीओ र आइएनजिओ डलरको खेतीमा लागेको अवस्थामा बस्नेतको जस्तो निस्स्वार्थ र सत्य समाजसेवा जोकोहीले गर्न नसक्ने भन्दै एकै क्षण भावुक समेत बने। विगत र वर्तमानझैँ आगामी दिनमा पनि बस्नेतको अभियानमा आफ्नो साथ रहने प्रतिबद्धता जनाउँदै उनले सबैलाई अभियानमा एकजुट हुन आग्रह समेत गरे।

सांस्कृतिक कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाबाट चेक र नगद गरेर ८४ हजार सङ्कलन भएको र ३५ हजार कार्यक्रममा खर्च भएको संस्थाको अध्यक्ष बिनयजंग बस्नेतले जानकारी दिए। बस्नेतले सामाजिक अभियानमा एक हुनुपर्छ भन्ने अभियान सफल परिदिनु भएकोमा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग पाउनेमा आशावादी रहेको बताए । 

प्रतिक्रिया