अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

चन्द्रागिरि हिल्सलाई उत्कृष्ट गन्तव्य पुरस्कार

बिआरटीनेपाल २०७५ असोज २० गते ९:०८ मा प्रकाशित

नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । 

चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गर्नुभयो ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकाले अन्तर्राष्ट्रिय स्तरको सो पुरस्कार प्रदान गरिएको उक्त पब्लिकेसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो ।

काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि वर्षेनी हजारौँको सङ्ख्यामा आउने भारतीय पर्यटक चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शनका लागि पनि जाने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू