अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

एनआरएन फिनल्याण्डद्वारा महोत्तरीमा ५५ जना विद्यार्थीहरूको अभिभावकत्व ग्रहण

बिआरटीनेपाल २०७५ असोज १५ गते १२:२२ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेको छ । सरकारले सुरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाका बालबालिकहरुलाई विद्यालय भर्ना गराउने कार्यको आज एक कार्यक्रमका बिच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गर्नुभयो ।

सो कार्यक्रममा विद्यार्थीहरूलाई स्थानीय महेन्द्र राष्ट्रिय उच्च मावि र जनता प्राथमिक विद्यालयमा भर्ना गराई झोला, लत्ताकपडा र स्टेसनरी आदी शैक्षिक सामाग्री वितरण समेत गरिएको छ । शैक्षिक सामग्री, झोला, कपडा र खाजामा गरी प्रति वर्ष हरेक विद्यार्थीले ६,००० रुपैयाँ बराबरको सहयोग प्राप्त गर्नेछन् । शैक्षिक सामग्री वितरण, अनुगमन लगायतका ब्यवस्थापकिय कार्यका लागि ६ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन तथा घरमा समेत पढ्ने वातावरण सृजना गर्न हरेक वर्ष उत्कृष्ट अभिभावकहरूलाई पुरस्कार र सम्मान प्रदान गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ ।

अभिभावकत्व ग्रहणका लागि श्रोत जुटाउन गत अगष्टमा फिनल्याण्डको राजधानी हेलसिन्किमा मैत्रीपूर्ण दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरिएको थियो । भर्ना गरिएका विद्यार्थीहरूलाई उनीहरूले विद्यालय शिक्षा पार गरुन्जेल सहयोग प्रदान गर्न पहल गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ । कार्यक्रमको दिगोपनका लागि शिक्षा मन्त्रालय तथा रामगोपालपुर नगरपालिकाले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू