अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

जुलियन असान्जलाई बेलायतबाट भगाउन रुसले गोप्य योजना बनाएको खुलासा

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:४७ मा प्रकाशित

रुसका कुटनीतिज्ञहरुले जुलियन असान्जको नजिकका मानिसहरुसँग अघिल्लो वर्ष गोप्य वार्ता गरेको कुरा सार्वजनिक भएको छ । लण्डनमा भएको त्यस वार्तामा रुसी कुटनीतिज्ञले असान्जलाई सुरक्षित रुपमा संयुक्त अधिराज्यबाट भगाउन सकिनेबारेमा छलफल गरेको जनाईएको छ । त्यस वार्तामा असान्जलाई उहाँ बसिराखेको इक्वेडरको बेलायतस्थित दूताबासबाट कुटनीतिक वाहनमा राखेर अर्को देशमा लाने एक मोटामोटी योजना बनेको कुरा पनि बाहिर आएको हो ।

विभिन्न स्रोतहरुले बेलायती समाचारपत्र गार्डियनलाई बताए अनुसार योजनामा रहेको एक अन्तिम गन्तव्यमा रुस आफै पनि थियो । रुसबाट अमेरिका सुपुरदर्गी गरिने खतरा नभएकाले असान्जको रुस जाने योजना उच्च प्राथमिकतामा रहेको हो । योजना कार्यान्वयनमा ल्याइँदा धेरै खतरा हुने भएपछि यसलाई पछि त्यागिएको थियो । असान्जलाई इक्वेडरको दूताबासबाट निकाल्ने सम्भावित समय तालिका सन् २०१७ को क्रिसमसलाई निर्धारण गरिएको थियो । एक स्रोतका अनुसार इक्वेडरले असान्जलाई भावि दिनमा कुटनीतिक हैसियत दिन अस्वीकार गर्ने सम्भावना बढ्दै गए पछि यो योजना आएको थियो ।

यो समाचार बाहिरिएसँगै पश्चिमा मिडियाहरुमा असान्जलाई संयुक्त अधिराज्य बाहिर लाने योजनामा रुसी अधिकारीहरुको संलग्नताले असान्जको क्रेमिलिनसँगको सम्बन्धबारेमा प्रश्न उठाईने जनाईएको छ । विकिलिक्सका संस्थापक तथा सम्पादक असान्ज अमेरिकाको सन् २०१६को राष्ट्रपति चुनाव परिणामलाई प्रभावित पार्न रुसी प्रयासबारे भइरहेको अपराधिक अनुसन्धानको प्रमुख पात्र हुनुहुन्छ ।

अनुसन्धानको नेतृत्व गरिरहेका प्रमुख सल्लाहकार रोवर्ट मुलरले यही जुलाईमा एक दर्जन रुसी सैन्य गुप्तचर अधिकारीमाथि आपराधिक मुद्धा हाल्नुभएको छ । उनीहरुमाथि राष्ट्रपति निर्वाचन अघि डेमोक्रेटिक पार्टीको सर्वर ह्याक गरेको आरोप छ । आरोपमा ह्याक गरेर प्राप्त भएका डाटाहरु विकिलिक्सलाई पठाइएको पनि भनिएको छ । मुलरका अनुसार विकिलिक्सले रुसी जासुसहरुले चोरेको ‘५०,००० दस्तावेजहरु’ प्रकाशित गरेको थियो । असान्जले भने आफूले प्रकाशित गरेको इमेलहरु रुसीहरुबाट प्राप्त गरिएको कुरा अस्वीकार गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू