अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

बर्लिनमा नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्ता सम्पन्न

बिआरटीनेपाल २०७५ असोज ५ गते ९:१८ मा प्रकाशित

बर्लिन, नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्ता जर्मनीको बर्लिनमा सेप्टेम्बर १९-२०, २०१८ मा सम्पन्न भयो । जर्मनी सरकारबाट आगामी दुई वर्षका लागि वित्तीय तथा प्राविधिक सहायता गरी जम्मा युरो ५५.६ मिलियन (करिब ७ अर्ब ५० करोड नेपाली रुपैयाँ)बराबर अनुदान सहायताको प्रतिबद्धता प्राप्त भयो । यसै गरी ऊर्जा दक्षता कार्यक्रम अन्तरगत लेखनाथ दमौली २२० केभी प्रसारण लाइन परियोजना निर्माणको लागि थप १५ मिलियन युरो सहित जम्मा ३१ मिलियन युरो अनुदान सहायता प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भयो । उक्त सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्री श्रीकृष्ण नेपाल र जर्मनी सरकारको तर्फबाट केएफ डब्लु विकास बैङ्कको दक्षिण एसिया क्षेत्रीय व्यवस्थापक Ms. Yasmin Tawfik ले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त वार्तामा जर्मनी सरकारबाट ऊर्जा, स्वास्थ्य तथा दिगो आर्थिक विकासका क्षेत्रमा जारी आयोजनाहरूलाई निरन्तरता दिँदै थप आयोजनाको लागि समेत प्रतिबद्धता प्राप्त भयो ।

जर्मनी सरकारबाट नेपाललाई नवीकरणीय ऊर्जा, स्वास्थ्य, नगर विकास, शान्ति कोष, भूकम्पपछिको पुनर्निर्माण तथा दिगो आर्थिक विकासका क्षेत्रमा प्राप्त सहयोगको लागि नेपाली पक्षबाट धन्यवाद व्यक्त गरियो ।

वार्ताकै क्रममा नेपाली प्रतिनिधिमण्डलबाट बर्लिन हाउस अफ रिप्रिजेन्टेटिभका सदस्य Dr. Robbin Juhnke तथा Federal Representation of the Federal State of North-Rhine Westphalia का पदाधिकारी लगायतसंग शिष्टाचार भेट गरी सङ्घीयता कार्यान्वयनको सम्बन्धमा जर्मनीको अनुभव आदान प्रदान गरिएको थियो ।

वार्ताको सुरुमा जर्मनी सरकारको तर्फबाट Head of the Directorate for Asia Ms. Gisela Hammerschimidt तथा जर्मनीका लागि नेपालका राजदूत महामहिम श्री रमेश प्रसाद खनाल ले नेपाल र जर्मनीबिच कूटनैतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको विषय स्मरण गर्दै द्विपक्षीय सम्बन्ध तथा सहयोग अरू मजबुत हुने विश्वास व्यक्त गर्नु भएको थियो । उक्त वार्तामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्री श्रीकृष्ण नेपालको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल तथा जर्मनी सरकारको तर्फबाट आर्थिक सहयोग तथा विकास मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख Dr. Wolfram Klein को नेतृत्वमा १२ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू