अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

‘ए’ डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक

बिआरटीनेपाल २०७५ असोज ३ गते ९:४१ मा प्रकाशित

यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक गरिएको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको खेल ‘ड्र’अनुसार उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुनेछ । तेह्र चरणसम्म खेलाइने लिगका सबै ९१ खेलको तालिका सार्वजनिक गरिएको हो ।

गोलाप्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातओटा खेल हुनेछन् । खेलतालिकाअनुसार असोज १४ गते ब्रिगेड ब्वाइज क्लबले मनाङ–मर्स्याङ्दी क्लबसँग तथा मच्छिन्द्र क्लबले च्यासल युथ क्लबसँग खेल्नेछन् । असोज १५ गते फ्रेन्ड्स क्लबले थ्रीस्टार क्लबसँग तथा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछन् ।

असोज १६ गते हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरीसँग तथा सरस्वती युथ क्लबले संकटा युथ क्लबसँग खेल्ने भएका छन् । दोस्रो चरणका खेलहरु असोज १९ गतेदेखि हुनेछन् । योपटक लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौं हुने टोलीले सात लाख र छैटौं हुने टिमले पाँच लाख रुपैयाँ पाउनेछन् । ‘फेयर प्ले’ टिमले एक लाख पाउँदा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार दिनेछ भने ‘म्यान अफ दी म्याच’ले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू