अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

बिआरटीनेपाल २०७५ साउन १५ गते ७:५६ मा प्रकाशित

उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् । 

अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिचिएका तस्वीरहरुका आधारमा उक्त नयाँ तथ्य बाहिर आएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तामा आणविक कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो । तर प्योङयाङले सम्झौता विपरीत कम्तीमा एक वा दुई ओटा तरल–इन्धनयुक्त अन्तर–महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको देखिएको छ ।

गुप्तचर निकायका अधिकारीहरुले नाम नखुलाउने शर्तमा भने – प्योङयाङ नजिकैको सानुमदोङमा क्षेप्यास्त्र निर्माणको काम भइरहेको देखिएको छ र यसबाट अमेरिकासम्म प्रहार गर्न सकिन्छ ।

गत जुनमा सिङ्गापुरमा भएको शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले “अबका दिनहरुमा प्योङयाङबाट आणविक खतरा रहेन” भन्दै आफ्नो कुटनीतिक सफलताको प्रचार गरेका थिए । तर कीमले मुलुकको आणविक र क्षेप्यास्त्र कार्यक्रम रद्द गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिएनन् ।

“हामीले काम भइरहेको देखेका छौं, विगतमा झैं,” गुप्तचर निकायका एक अधिकारीले अखबारलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू