अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

पोदार हुन्डीका मास्टर माइन्ड

बिआरटीनेपाल २०७५ असार १० गते २०:११ मा प्रकाशित

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका विमल पोदार २५ वर्षदेखि हुन्डी कारोबारमा संलग्न रहेको खुलेको छ । सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिको अनुसन्धानबाट उनी दुई दशकदेखि हुन्डी कारोबारमा संलग्न रहँदै आएको खुलेको हो । हुन्डीको रकम सुन तस्करीमा प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको समितिको भनाइ छ । विगतका रेकर्ड तथा कल डिटेल्सले यसलाई पुष्टि गरेको समितिका संयोजक सहसचिव पौडेलले बताए ।नयाँ पत्रिका दैनिकबाट

उनले भने, ‘सुन तस्करीमा उनको गतिविधि सन्दिग्ध देखिएपछि पक्राउ ग-यौँ । यसक्रममा बयान लियौँ । विगतका रेकर्ड हेरियो । कल डिटेल्स अध्ययन भयो । सबै हेर्दा उनले वर्षौँदेखि हुन्डी कारोबार गर्दै आएको खुल्यो । उनले पनि स्वीकार गरेका छन् ।’

समितिका अनुसार नेपालमा हुन्डी कारोबार भित्र्याउने नै उनी हुन् । उनैको सिको गरेर नेपालमा हुन्डीका अन्य कारोबारी जन्मिएको समितिको दाबी छ । विगतमा उनले भन्सार हुँदै भारतीय रुपैयाँ नेपाल ल्याउँथे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सो रकम दुबई पठाउँथे । त्यसबापत सुन ल्याउँथे र भारतीय बजारमा बेच्थे । ६ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपले विदेश लैजान लागेको १ करोड २४ लाख रुपैयाँ विदेशी मुद्रासहित भारतीय रुपैयाँ बरामद भयो ।

घटनामा विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठ मुछिए । पछि उनी सेवाबाट बर्खास्त भए । तस्करी हुँदै विदेश लैजान लागिएको सो रकम पोदारकै रहेको प्रहरी अनुसन्धानबाट खुले पनि उनी पक्राउ परेका थिएनन् । समितिका अनुसार उनले तस्करीको सुन र आवश्यक रकम धेरैजसो वीरगन्ज नाका हुँदै भारत लैजाने गर्थे । त्यसबाहेक उनले विराटनगरको जोगबनी र झापाको काकडभिट्टास्थित पानीटैंकी नाका पनि तस्करीका लागि प्रयोग गर्थे ।

समितिका संयोजक पौडेलले भने, ‘तस्करीका लागि सबैभन्दा धेरै प्रयोग भएको भन्सार वीरगन्ज देखिएको छ । त्यसबाहेक झापाको पानीटैंकी र विराटनगरको भन्सार पनि प्रयोग भएको देखिन्छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । थप तथ्य खुल्ने क्रममा छन् ।’

तस्करीमा रेमिटेन्सको प्रयोग
समितिका अनुसार तस्करीको सुनमा वैदेशिक रोजगारीमा गएका युवाको कमाइ प्रयोग हुने गरेको देखिएको छ । विशेषगरी दुबई र दुबई ट्रान्जिट बनाएर वैदेशिक रोजगारीमा जाने युवाको रेमिटेन्सबापतको रकम यस कार्यमा प्रयोग हुने गरेको समितिको दाबी छ । वैदेशिक रोजगारीमा गएका युवाले कमाएको रकम उतै खरिद हुने र आश्रित परिवारलाई नेपालस्थित तस्करले त्यसबापतको रकम उपलब्ध गराउने गरेको समितिको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू