अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

गंगामायाको स्वास्थ्य अवस्था गम्भीर

बिआरटीनेपाल २०७५ असार १० गते १०:०४ मा प्रकाशित

पछिल्लो पटक वीर अस्पतालमा छोरा कृष्णप्रसादका हत्यारालाई कारवाहीको माग राखेर आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । गोरखा फुजेलकी ६२ वर्षीया अधिकारी गणतन्त्र दिवसका दिन (जेठ १५)देखि आमरण अनशन बसेकी हुन् ।

लामो समयदेखि वीर अस्पतालमा उपचाररत उनले आफू र आफ्नो परिवारलाई अन्याय परेको भन्दै आमरण अनशन थालेकी हुन् । छोरा कृष्णप्रसादका हत्यारालाई कारवाहीको माग राखेर अनशन बसेकै बेला अधिकारीका पति नन्दप्रसादको पनि वीर अस्पतालमै साढे तीन वर्षअघि मृत्यु भएको थियो । उनको अन्त्येष्टि अहिलेसम्म भएको छैन । उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

आफूलाई न्याय नदिने हो भने फासी दिन माग गर्दै अधिकारीले चिकित्सकलाई थप उपचार गर्नसमेत गर्न दिएकी छैनन् । ‘धेरै दिनदेखि उहाँको शरीरले सलाइन लिएको छैन, स्वास्थ्य अवस्था निकै गम्भीर बन्दै गएको छ, शरीरका सबै अंग शिथिल भएका छन्’, मानवअधिकारकर्मी चरण प्रसाईंले भने ।

प्रसाईंका अनुसार गंगागामायाको दुवै खुट्टा सुन्निएका छन्, सलाइन दिन शरीरमा नसा भेटिदैन र आइसियूमा जान पनि उनले मानेकी छैनन् । ‘सरकारले जबसम्म मलाई न्याय दिँदैन त्यो बेलासम्म म केही खान्नँ । मेरा पतिको पनि अनशनकै क्रममा ज्यान गयो । बरु मेरो पनि ज्यान जाओस् म केही खान्न भन्दै उहाँले आइसियूमा जान मान्नुभएको छैन,’ अधिकारीलाई उद्धृत गर्दै प्रसाईंले भने । उनी वीर अस्पतालको मेल सर्जिकल वार्डको क्याबिन नम्बर ७ मा छिन् ।

आमरण अनसनकै क्रममा वीर अस्पतालमै २०७१ असोज ६ गते अधिकारीका पति नन्दप्रसादको मृत्यु भएको थियो । अनशन बसेको तीन सय साठी दिनपछि उनको निधन भएको थियो । नन्दप्रसादको मृत्यु भएपछि गंगामायालाई मानवअधिकारकर्मी र चिकित्सकले दोषीलाई कारवाहीको दायरामा ल्याउने आश्वासन दिएर अनशन तोडाएका थिए । तर आश्वासनअनुसार दोषीलाई कारवाही नभएपछि गंगामाया फेरि अनशन बसेकी हुन् ।

वीर अस्पतालका सहनिर्देशक डा. सरोज शर्माले गंगामायाको उपचार भइरहेको बताए । ‘उहाँको उपचार भइरहेको छ, केही समस्या भएको भए मलाई जानकारी हुने थियो, अहिले केही त्यस्तो समस्या भएको जानकारी छैन’, डा. शर्माले भने । अस्पताल स्रोतका अनुसार उनले खान मानेकी छैनन् भने घाटीबाट पाइप राखेर खान दिन पनि सकिएको छैन । उनको पिसाब निकै कम भइरहेको छ, रक्तचाप ८०/६० र पल्सदर ७२ तथा श्वासप्रश्वास दर प्रतिमिनेट १८ रहेको छ । गत जेठ २४ गते अस्पतालले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको उल्लेख थियो । त्यतिबेलै आइसियूमा राखेर उपचार गर्न ‘काउन्सिलिङ’ भइरहेको पनि अस्पतालले जनाएको थियो ।

तत्कालीन माओवादी विद्रोहीको एक समूहले उनका छोरा १७ वर्षीय कृष्णप्रसादलाई चितवनबाट अपहरण गरी २०६१ जेठ २४ मा हत्या गरेको थियो । हत्यारालाई कारवाही हुनुपर्ने माग गर्दै अधिकारी दम्पती पटकपटक आमरण अनशन बसेका थिए । गंगामायाले आफ्नो जेठा छोरा नुरप्रसाद पनि चार वर्षदेखि बेपत्ता भएको बताएकी छन् । उनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि मानवअधिकारकर्मीको एक समूहले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर जानकारी गराएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि पनि मानव अधिकारकर्मीको समूहले उनलाई भेटी गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । गृहमन्त्री रामबहादुर थापालाई यो विषय जानकारी गराएको भए पनि उनले त्यति चासो नदिएको अधिकारकर्मीहरुले बताएका छन् । ‘हामीले राज्यका सबै निकायलाई गंगामायाको स्वास्थ्य अवस्था र मागबारे जानकारी गराएका छौं, प्रहरी महानीरीक्षक सर्वेन्द्र खनाललाई पनि विषय अवगत गराएका छौं तर कतैबाट सुनुवाइ भएको छैन’, अधिकारकर्मी प्रसाईंले भने । आजको नागरिक न्यूजमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू