अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

नायक नायिकासँगै र्याम्पमा डेढ दर्जन मोडलको क्याटवाक

डब्बु क्षेत्री, काठमाडौँ २०७५ जेठ ६ गते ९:२८ मा प्रकाशित

मङ्सिरको दोस्रो साता देशव्यापी रिलिज गर्ने घोषणा सहित चलचित्र ‘रणबीर’का अभिनेता सुशील पोखरेल र अभिनेत्री शुभेच्छा खड्का गर्मीको पहिरनमा सजिँदै र्याम्पमा उत्रिएका छन् । आर आर ग्रुपले शुक्रवार राती काठमाडौँको अन्नपूर्ण होटेलमा आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन सोमा यी अभिनेता अभिनेत्री शोज टपरका रूपमा मञ्चमा उत्रिएका हुन् । 

चलचित्र रणबीरको एउटा गीतमा नृत्य कलाकारले सोही कार्यक्रममा नृत्य प्रस्तुत गरे । रणबीरकी निर्माता गोमा विष्टले एलेक्सी फेसनका तर्फबाट कलेक्सन गरेका गर्मी लक्षित पहिरनका साथ रणबीरका अभिनेता अभिनेत्री, निर्माता दिपेन्द्र रेग्मी र गोमा मञ्चमा उत्रिए । धिमे बाजा सहित सुरु भएको फेशन सोको सुरुमा अभिनेत्री सारा सिरपालि मञ्चमा प्रस्तुत भएकी थिइन् ।

गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएका समर फेशन सहित सो कार्यक्रममा १८ जना मोडलहरू र्याम्पमा उत्रिएका थिए । गायिका मनीषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर मोडलहरू प्रस्तुत भए । 

यस्तै सुनिल महर्जन र सुष्मा महर्जनले तयार पारेको गर्मी लक्षित जिन्सका स्कर्ट, वान पिस, टु पिस, हाफ पाइन्टमा सजिएर मोडलहरू अर्को सिक्वेन्समा प्रस्तुत भए । एस आर कलेक्सनका तर्फबाट प्रस्तुत गरिएको गाउन र विभिन्न फेशन डिजाईनरले तयार गरेको ढाकाको पहिरन सिक्वेन्स पनि फेशन सोको आकर्षण बनेको थियो ।

फेशन सो आयोजक आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले विगतका वर्षमा झैँ यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेसनहरूलाई यो फेशन सोमा प्रस्तुत गरिएको बताइन् । फेशनको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । 

मोडलहरू कुसुम तामाङ, दिव्य थापा, मन्दिरा राणा, प्रियंका, स्वेच्छा, कविता, दावा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टि र सीमा लगायतका मोडल र्याम्पमा उत्रिएका थिए ।