अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

नेपाली चलचित्र चौका दाउ धमाधम छायाङ्कनमा

डब्बु क्षेत्री, काठमाडौँ २०७५ जेठ ४ गते ९:१९ मा प्रकाशित

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चलचित्र चौका दाउ छायाङ्कन भइरहेको छ । यो चलचित्रको एक साता अघिबाट छायाङ्कन सुरु भएको हो ।

अग्रज सङ्गीतकार एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा यो चलचित्रका परिकल्पना, कथा र सङ्गीत हुन् । यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बास्कोटाले चौका दाउ आफ्नो कथामा निर्माण हुन लागेको नवौँ फिल्म हो भने । चलचित्रको छायाङ्कन तीव्र रूपमा भइरहेको र जेठ महिनाभरि छायाङ्कन सम्पन्न गर्ने उनले बताए ।

सौर्य प्रोडक्सनका प्रस्तुति रहेको यो चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजीत बास्कोटाले निर्माण गरिरहेका छन् । यो चलचित्रमा अजस्र ढुँगाना र वर्षा राउत जोडी बनेर प्रस्तुत हुँदै छन् । चलचित्र ए मेरो हजुर २ मा सह अभिनेताको रूपमा काम गरेका अजस्रले चौका दाउबाट नायकको रूपमा डेब्यु गर्न लागेका हुन् ।

चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरिहेका छन् । चौका दाउका कलाकारहरूमा विल्सन विक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुँगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय छ ।

जसमा दीर्घ गुरुङको छायाङ्कन, शम्भुजित बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, वसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजित बास्कोटाको सङ्गीत, बास्कोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण व्यवस्थापन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ ।