अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

काबुलमा आत्मघाती बम हमलाबाट मारिएका पत्रकारहरूको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

बिआरटीनेपाल २०७५ वैशाख १९ गते ११:५६ मा प्रकाशित

गत सोमबार अफगानिस्तानको काबुलमा आत्मघाती बम हमलाबाट मारिएका पत्रकारहरूको सम्झनामा नेपाल पत्रकार महासङ्घ र फोटो जर्नलिष्ट क्लब नेपालको संयुक्त आयोजनामा बुधवार काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरियो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, एशोसियट संस्था, रिपोर्टस क्लब लगायतका संस्थाका पदाधिकारीसहित विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकार, पत्रकार तथा टेलिभिजन क्यामरा पर्सनहरुको उल्लेख्य उपस्थिति थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष आचार्यले पत्रकारमाथि लक्षित हुने कुनै पनि आतंककारी हमला सभ्य समाजमा स्वीकार्य नहुने भन्दै त्यसबाट विश्वभरका पत्रकारहरू एकजुट हुने बताए । ‘आतंककारीले पत्रकारलाई लक्षित गरेर गरेको हमलामा आफू सफल भएको ठान्लान । तर यस्ता आतङ्कवादी हमलाबाट पत्रकारको कलम डगमगाउने छैन । हामी विश्वका कुनै पनि कुनामा पत्रकारलाई लक्षित गरेर हुने यस्ता हमलाको भर्त्सना गर्छौ,’ आचार्यले भने । 

यसै गरी प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठले आतंककारी हमलाको निन्दा गर्दै यस्ता हमलाबाट पत्रकारको रक्षा गर्न संसारभरका सबै सरोकारवालाहरु चनाखो हुनुपर्ने विचार राखे ।

बम हमलामा परी अफगानिस्तानमा एएफपीमा कार्यरत फोटो पत्रकार शाह मराई लगायत ९ पत्रकारको ज्यान गएको थियो । त्यसै गरी दक्षिणी अफगानिस्तानको खोस्ट प्रान्तमा बीबीसीका पत्रकार अहमद साह मारिएका थिए । 

काबुलस्थित नेटोको मुख्यालय र अमेरिकी दूतावास नजिकै भएको बम बिष्फोटनको समाचार सङ्कलन गरिरहेको अवस्थामा क्यामरासहित पत्रकारको भेशमा मोटरसाइकलमा पुगेका आत्माघाती हमालाकारीहरुले पत्रकारहरूलाई लक्षित गरी बिष्फोट गराएका थिए ।  काबुल घटनामा पत्रकारहरू सहित २५ जना मारिएका थिए । घटनाको आइएसले जिम्मेवारी लिएको थियो ।

मारिने पत्रकारहरू
शाह मराई – एएफपी
यर महोमद – तोखी टोलो न्यूज
महाराम दुरानी – रेडियो फ्री युरोप
अब्दुला हाननजई –  रेडियो फ्री युरोप
सबाउन काकर – रेडियो फ्री युरोप
गाजी रासौली – वान टिभी
नरुज अलि राजबी – वान टिभी
सलिम तलास –  मासाल टिभी
अलि सालमी – मासाल टिभी
अमहद शाह – बिबिसी

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू