अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

लेखक बन्न १२ टिप्स

अभय श्रेष्ठ २०७५ वैशाख ८ गते ८:३६ मा प्रकाशित

१. लेखक हुने हो भने लोकप्रिय हुने लोभ नपाल्दा राम्रो । लोकप्रिय हुनु छ भने अभिनेता, अभिनेत्री, गायक, गायिका वा खेलाडी बन्नु राम्रो ।
२. तरुनी फकाउन वा कसैलाई खुसी पार्न लेख्नुभन्दा बरु लेख्दै नलेख्नु राम्रो ।
३. आफूलाई सजिलोसँग अभिव्यक्त गर्न सकिने जुनसुकै विधामा मन खोलेर लेखे हुन्छ । गजल लेख्दा फलानाको गाली खाइन्छ, कविता लेख्दा फलानाले उडाउँछ, कथा, निबन्ध वा कविता लेख्दा पाठक नहोलान् भन्ने मनमा नलिनुस् । ‘काफिया’ सकिएपछि गजल लेख्न छोड्दा राम्रो । उही कुरा दोहो-याउन किन लेखिरहनु ?

४. प्रकाशकको फर्माइसमा उपन्यास नलेखौँ किनभने तिनले हाइकूकारदेखि दोहोरी गायिका, तस्करसम्मलाई उपन्यासै लेख्न अफर गर्छन् ।
५. ज्यान छाडेर चर्चाको पछाडि नदौडौँ । मेरो चर्चा भएन भनेर अहिलेका डेट एक्सापाएर्ड कवि, लेखक जसरी रोएर केही हुँदैन ।
६. फलानाले पुरस्कार पायो, मैले पाइनँ भनेर रोइलो नगर्नुस् । पुरस्कारको पछि दौडनु भनेको पुरस्कारदाताको कमैया हुन तयार हुनु हो ।
७. प्रशंसा पाउनलाई गुट नबनाउँ । स्वार्थ बाझिएपछि गुट फुट्छ र आजको प्रशंसा भोलि गालीमा परिणत हुन्छ ।
८. लेख्दा कोही रिसाउला वा बिघ्न आइलाग्ला भनेर थरथर काम्नेले लेखक हुने लोभै नपाल्नु राम्रो ।

९. कसैलाई सिध्याउँछु वा कसैलाई चर्चाको चुलीमा पु-याउँछु भन्ने उद्देश्य मनमा नराखौँ । आफ्नो कुरा जे हो मन खोलेर लेखौँ ।
१०. आफूलाई ठिक लाग्छ भने कुनै वादको पछि लागे पनि हुन्छ । तर, लेख्दा कम्तीमा आफूलाई नढाँटौँ ।
११. लेखनमा आत्मस्वीकृतिको भावलाई जीवित राख्नुस् । त्यसले नै तपाईँको लेखनलाई अन्तर्दृष्टि दिन्छ ।
१२. जुन भाषामा लेख्ने हो त्यसमा राम्ररी पकड जमाऊँ । कम्तीमा आजका पत्रकारको भन्दा शब्दज्ञान बढाउनु अनिवार्य छ ।

नयाँ पत्रिकाबाट साभार 

प्रतिक्रिया