अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

पुर्ख्यौली जग्गा बेचेर भए पनि बेवारिसे सबलाई स-सम्मान दाहसंस्कार गर्दै समाजसेवी बस्नेत [भिडियो]

सन्दीप खत्री, काठमाडौँ २०७५ वैशाख ४ गते ९:५० मा प्रकाशित

सब शब्द सुन्ने बित्तिकै प्राय मानिसको मन डराएर आउने गर्छ। अझ अस्पतालमा रहेका ‘बेवारिसे सब’ हेर्ने हो भने जोसुकैको पनि आङ नै सिरिङ्ग भएर आउँछ। राजधानी लगायत देशैभरका अस्पतालहरूमा उचित व्यवस्थापन हुन नसक्दा बेवारिसे लासहरू थुप्रँदै गएका छन्। महिनौँदेखि बेवारिसे अवस्थामा रहेका थुप्रै लासहरूको जिम्मेवारी लिने कोही नहुँदा अस्पतालकै शव गृहमा कुहिएर बसेका छन् ।

समाजमा फरक-फरक पात्रहरूको अस्तित्व रहेको हुन्छ। बेवारिसेहरुको कुरा गर्ने हो भने मृत्युवरण गर्नु अघि पनि बेवारिसेहरु समाजमा हेलाको पात्र बनेका छन्। जीवन जिउन्जेल सङ्घर्षमा बिताएका गरिब, असहाय र बेवारिसे लासहरू समाजमा तिरस्कार खेपेर पनि सद्गत हुन नपाउनु मानव सभ्यतालाई नै एक प्रकारको चुनौती हो। बेवारिसे अवस्थामा पुर्‍याउने , बेवारिसे भएपछि मृत्युवरणको मुखसम्म धकेल्ने मानव समाजमा मानवताको गम्भीर सवाल खडा भएको छ। 

सबैले बेवारिसेहरुलाई तल्लो स्तरमा तिरस्कार गरेको अवस्थामा टिकाथलीका एक समाजसेवी बिनयजंग बस्नेत भने अस्पतालमा रहेका बेवारिसे सबहरूलाई घाटमा लागि आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गर्ने गर्दछन्। ‘एक्सन फर सोसल चेन्ज’ को सहयोगमा विगत लामो समयदेखि उनी बेवारिसेहरुको संरक्षण र बेवारिसे सबहरूको दाहसंस्कार गर्दै आएका छन्। अहिलेसम्म उनले ९७ सबलाई आफ्नै हातले दागबत्ती दिएर दाहसंस्कार गरिसकेका छन् ।

विगतमा बेवारिसे सब सद्गत गर्न आफ्नो मोटरसाइकल बेचेका बस्नेतले अहिले आफ्नो पुर्ख्यौली जग्गाजमिन धितो राखेर भए पनि बेवारिसेहरुको संरक्षण र बेवारिसेहरुको सब व्यवस्थापन गर्दै आएका छन्। आर्थिक रूपमा जोहो गर्न निकै गाह्रो पर्ने अवस्थामा सीमित व्यक्तिको सहयोग बाहेक सरकार पक्ष र अन्य सम्बन्धित ठाउँबाट सहयोग नभएको उनको गुनासो रहेको छ। पछिल्लो समय उनले भक्तपुर अस्पतालमा रहेको बेवारिसे सबलाई अस्पताल प्रशासन, प्रहरी र भक्तपुर नगरपालिकाको समन्वयमा ससम्मान दाहसंस्कार गरेका छन्।

‘एक्सन फर सोसल चेन्ज’ ले ७५ वटै जिल्लामा बेवारिसेहरुको व्यवस्थापनमा काम गर्ने अनुमति नेपाल सरकारबाट मान्यता पाइसकेको छ। संस्थाले १७ जिल्लामा साधारण समूह बनाएर शाखा स्थापना गरिसकेको छ। ९७ बेवारिसे सबलाई आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गरिसकेका बस्नेतले आगामी दिनमा झन् सशक्त ढङ्गले निस्स्वार्थ सेवा गर्ने बताएका छन्। बस्नेतले सरकार पक्षबाट कुनै साथ र सहयोग नभए अझै पुर्ख्यौली सम्पत्ति बेचेर वा बन्दकी राखेरै भए पनि बेवारिसेहरुको सेवा गर्ने निर्णय गरेका छन् ।

अब चाडै नै ११७ वटा भूकम्प देखि अलपत्र परेका बेवारिसे शब्हरु एकैसाथ सामूहिक दाहसंस्कार गर्ने तयारी भइरहेको उनले जानकारी गराए। सामूहिक दाहसंस्कारको लागि वैशाख महिना भित्रै कानुनी र कागजी प्रक्रिया सम्पन्न हुने उनले बताए ।

सभ्य र आधुनिक समाजका प्रतिनिधि ठान्ने हाम्रो समाजमा मानवीय संवेदनाको फितलो बन्दै गैरहेको अवस्थामा बस्नेतले देखाएको मनबता पक्कै पनि उदाहरणीय छ । यस्ता बेवारिसे लास र वृद्धाश्रमहरुमा बढ्दै गएका असहाय, निराश र जीवनबाट उपेक्षित वृद्ध–वृद्धाहरूको भीड कम गर्न विनय बस्नेत जस्तै अरू पात्रहरू पनि समाजमा सक्रिय हुनु जरुरी प्राय भैसकेको छ ।

समाजसेवाको नौलो आयाम अन्तर्गत बेवारिसे सबहरूको दाहसंस्कार गर्ने कार्यमा सरकार पक्षबाट पनि साथ र सहयोगको खाँचो रहेको छ । साथै सम्बन्धित निकाय पनि यसतर्फ गम्भीर हुनु जरुरी छ । समाजसेवी बिनयजंग बस्नेतको यो प्रयास र कदमको निरन्तरताको लागि सबैको साथ, सहयोग र प्रोत्साहनको आवश्यकता रहेको छ ।

हेर्नुहोस् बिनयजंग बस्नेतसँग गरिएको कुराकानी: