अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

हाम्रा अवार्डहरू किन हाँस्न सकिरहेका छैनन् ?

सरिता लामिछाने, काठमाडौँ २०७४ चैत २७ गते २०:१० मा प्रकाशित

हामीकहाँ धेरै किसिमका फिल्मी अवार्ड कार्यक्रमहरू हुन थालेका छन् । हरेक अवार्डमा दुई दर्जन विधाहरूमा कलाकर्मीलाई पुरस्कृत सम्मानित समेत गरिन्छ । तर मैले अनुभव गरेकिछु हाम्रा अवार्ड र सम्मान कार्यक्रमहरू हाँस्न सकिरहेका छैनन् ।

हरेक जसो अवार्ड कार्यक्रमहरूमा कलाकारहरूको न्यून सहभागिता हुने गर्दछ । त्यसमा पनि चलेका र युवा कलाकर्मीहरु त झन् कम हुन्छन् । किन भइरहेको छ यस्तो ? यस सम्बन्धमा जवाफ नखोज्ने र कलाकर्मीको आम सहभागिता गराउन नसक्ने हो भने प्रश्न उठ्न सक्छ किन गर्ने अवार्ड कार्यक्रम ? हो, त्यस कारण अवार्डलाई गरिमामय र सर्वमान्य बनाउन हामीले पहल सुरु गर्नु पर्दछ । कलाकार सङ्घको फान अवार्ड यसैको सुरुवात हो भनेर बुझियो भने सही हुन्छ ।

अवार्डहरूको इतिहास सम्झेर ल्याउँदा मलाई चलचित्र सङ्घले गर्ने मोसन पिक्चर्स अवार्डको झल्को अहिले पनि आउने गर्दछ । त्यो अवार्ड कार्यक्रम साच्चिनै सम्झन लायक थियो । बिचमा किन बन्द भयो म भन्न सक्दिन । तर लामो समयको अन्तरालपछि मोसन पिकचर्स अवार्डले पुन निरन्तरता पाउँने कुरामा र उक्त कार्यक्रमको जुरी सदस्यको नाताले संलग्न हुन पाउँदा अत्यन्तै हर्षित भएकी छु तर आजसम्म त्यसले निरन्तरता पाएको हुन्थ्यो भने हाम्रो ओस्कर बराबरको अवार्ड सायद त्यही नै हुन्थ्यो ।

मोसन पिक्चर्स अवार्डमा सबै कलार्काी र सञ्चारकर्मीको सहभागिता हुने गर्दथ्यो । त्यस अवार्डको नोमिनेशनमा पर्नु नै ठुलो विषय मानिन्थ्यो । अझ भनौ कार्यक्रममा सहभागिता जनाउन पाउनु पनि गौरवको विषय थियो । सही अर्थमा भव्य र गरिमामय हुन्थ्यो मोसन पिक्चर्स अवार्ड । विष्णु गोपाल श्रेष्ठको संयोजन साँच्चै नै प्रशंसा योग्य थियो । तर आजका मितिमा आइपुग्दा अवार्डहरूमा चार्म हराएझैँ भएको छ ।

विवाद त मोसन पिक्चर्स अवार्डमा पनि हुन्थ्यो । तर पनि त्यसमा सहभागिता कम हुँदैनथ्यो । कुरा त त्यसको पनि काटिन्थ्यो, तर त्यस्ता कुरालाई एउटा कानले सुनेर अकोृ कानले उडाइन्थ्यो । अहिले पनि मोसन पिक्चर्स अवार्डको स्मारिका निकालेर पल्ट्याउदै गर्दा गौरवको अनुभूती हुन्छ । के त्यो एउटा मात्र अवार्ड कार्यक्रम भएको हुनाले त्यस्तो उचाइमा पुगेको थियो ?

कलाकार सङ्घको नेतृत्वमा बसेर फान अवार्डको संयोजन गरिरहँदा मेरो मनमा एउटै प्रश्न घरीघरी आइरहन्छ अवार्डमा कसरी सबै कलाकारको सहभागिता गराउने ? कसरी बनाउने सर्वमान्य अवार्ड कार्यक्रम ? र कसरी अधिकतम सम्मानित बनाउने यस अवार्डलाई के यो सम्भव छैन ? त्यसो त हलिउडको ओस्कार र बलिउडको फिल्म फेयर पनि सर्वमान्य अवार्ड कार्यक्रम होइनन् । तिनमा पनि विवाद हुने गर्दछ । नपाउनेले पाउ भनेर समाचार आउँछन् । यति हुँदा पनि तिनको गरिमा उच्च छ । नपाउनेले मन दुखाउने प्रचलन नयाँ र हाम्रोमा मात्र होइन । तर पाउने र नपाउनेको कारण चाहिँ चित्तबुझ्दो हुनु पर्दछ । के फान अवार्डलाइृ यो तहमा पुर्‍याउन सकिन्न र ? म हिजोआज यस विषयमा घोरिन थालेकी छु ।

संसार भरिनैनै अवार्ड दिने मापदण्ड बनाइएको हुन्छ । धेरै व्यापार गर्न सफल फिल्मलाई अवार्ड दिने हो कि ? सन्देशमुलक आर्ट फिल्मलाई प्राथमिकता दिने ? वा अत्यधिक चर्चामा रहेका, स्टारहरू जन्माउन सफल फिल्मलाइ अवार्ड दिने ? छोटकरीमा भन्दा कस्तो फिल्मको प्रमोट गर्ने ? भन्ने सवालमा आयोजक क्लियर हुन जरुरी छ । हामीकहाँ प्रदान गरिने सबैजसो अवार्डमा एउटै हेरिन्छ, व्यापार । सायद यही कारण अवार्डहरूको महत्त्व उजागर हुन नसकेको हो । किनभने जसले अवार्ड गरे पनि त्यही फिल्म, तिनै कलाकार र तिनै प्राविधिक पर्ने भएकोले धेरैवटा अवार्ड कार्यक्रम स्थापित हुन नसकेका हुन् ।

चलचित्र विकास बोर्ड वा अवार्ड आयोजकहरूले एउटा बहस गराएर निष्कर्षमा पुग्न अब ढिला गर्नु हुँदैन । कुन अवार्ड कार्यक्रमको थिम के ? हो यस सवालमा क्लियर भएको खण्डमा एउटा किसिमको बाटो बन्छ भन्ने मेरे बुझाई रहेको छ । त्यसै गरी हरेक अवार्ड कार्यक्रमलाई पारदर्शी बनाउननै पर्दछ । यसको मनिटरिङ नहुँदा पनि अवार्ड प्रति विश्वास बढ्न नसकेको मेरो ठम्याई हो । आयोजक पक्षले समारोहलाई भव्य बनाउन मात्र लाग्नु पर्दछ । जजहरुलाई मापदण्ड बनाएर दिने बाहेक कुनै पनि खाले हस्तक्षेप वा सक्रियतामा आयोजक लाग्नु हुन्न । यति गर्न सक्दा अवार्डको विश्वसनीयता पक्कै बढ्ने छ ।

अवार्डको मापदण्ड बनाउँदा भोलिका दिनमा फान अवार्डको थिम अभिनय हुन सक्ला । अर्थात् सम्पूर्ण एंगल अभिनयको होला । त्यसले उत्कृष्ट अभिनय गर्ने कलाकारको पहिचान चाहिँ पक्कै गछृ । यस कुरामा निर्णय गर्ने अधिकार कलाकार सङ्घको हो । तर म व्यक्तिगत रूपमा यस सवालमा राजी छु । जस्तो प्राविधिक सङ्घले प्रविधि र प्राविधिकको एंगलमा अवार्ड गरेको खण्डमा त्यसको सन्देश सही रूपमा जान्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । मलाई लाग्छ अवार्डलाई गरिमामय बनाउने यो एउटा सरल उपाय हो । यति गर्न सकियो भने हाम्रा अवार्डहरू हाँस्नेछन् । यो मेरो नितान्त व्यक्तिगत धारणा हो ।

साभार: फान अवार्ड २०७४ को स्मारिका

प्रतिक्रिया