अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

सरकारको काममा प्रचण्ड नै असन्तुष्ट, सूर्य चिह्न अमान्य

बिआरटीनेपाल २०७४ चैत २४ गते २१:४४ मा प्रकाशित

काठमाडौँ, वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति दाहालले असन्तुष्टि जनाएका हुन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ । 

‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भएको देखिन्न,’ प्रेस सेन्टरका नेताहरूलाई शनिवार अध्यक्ष दाहालले भने, ‘सरकार सञ्चालनको विधि तौरतरिका अपनाएर अघिबढ्नुपर्ने देखिन्छ ।’ दाहालले प्रधानमन्त्री वा मन्त्रीहरूको कार्यशैली ठिक नभएको बारे भने विस्तृतमा खुलाएनन् । तर, उनले सरकारको काम प्रभावकारी ढङ्गले अघि बढाउन विधि बनाएरै अघि बढ्नुपर्नेमा भने जोड दिए ।माओवादी केन्द्रले एकीकृत पार्टीको चुनाव चिह्न सूर्यमा सहमति नजनाउने स्पष्ट पारेको छ । अध्यक्ष दाहालले एकीकृत पार्टीको सूर्य चिह्नमा सहमति हुन नसक्ने बताएका छन् ।

दाहालले सूर्यभित्र हँसिया हथौडा भने मान्य हुने बताएका छन् । ‘सूर्य चिह्नमा सहमति त एउटा पार्टी अर्को पार्टीमा प्रवेशजस्तो हुन्छ, दाहालको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘विगतमा एमालेले पनि सूर्यभित्र हँसिया हथौडा राखेकै हो, झन्डाहरूमा सूर्यभित्र हँसिया हथौडा राखेर प्रयोग पनि गरेकै हुन्, त्यसैले उहाँहरूले सूर्यभित्र हँसिया हथौडा राख्ने विषयमा असहमति जनाउनुहुन्छजस्तो लाग्दैन, अब चाँडै नै एकताको खाकामा अन्तिम सहमति हुन्छ ।’ दाहालले जनयुद्धको विषयमा भने कुरा मिलेको बताएका थिए । जनयुद्ध र जनक्रान्तिलाई सँगै उल्लेख गरेर जान एमाले सहमत भएको उनले जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू