अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

क्यान निलम्बनमा रहँदा एकदिवसीय मान्यताको उपयोग गर्न गाह्रो हुने भन्दै कप्तानहरूको चिन्ता

बिआरटीनेपाल २०७४ चैत ११ गते १७:२६ मा प्रकाशित

नेपाली क्रिकेट विवाद समाधानका लागि तत्काल पहल थाल्नुपर्नेमा पूर्व तथा वर्तमान कप्तानहरूले चासो व्यक्त गरेका छन्। नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको करिब तीन वर्ष बित्न लाग्दा समेत सम्बन्धित निकाय मौन रहेको भन्दै राष्ट्रिय टोलीका कप्तानहरूले चिन्ता र चासो व्यक्त गरेका हुन्।

टोलीका पहिलो कप्तान लेखबहादुर (एलबी) क्षत्रीले खेलाडीको मेहनत र परिश्रमबाट हासिल गरेको पछिल्लो उपलब्धि गुम्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे। ‘चार वर्षको अवधि रमाउँदा रमाउँदै सकिन्छ। त्यसैले क्रिकेटमा भविष्य छ भन्ने बनाउन पनि जतिसक्दो चाँडो क्यानको पुनर्गठन हुनुपर्छ’, क्षत्रीले भने।

यसैगरी अर्का कप्तान पवन अग्रवालले भर्खरै आएको एकदिवसीय राष्ट्रको मान्यतालाई सदुपयोग गर्न नसके नेपाली क्रिकेटको दुर्भाग्य हुने बताए। ‘नेपालले पाएको एकदिवसीय मान्यतालाई चाँडोभन्दा चाँडो सदुपयोग गर्नुपर्छ। अन्यथा नेपाली क्रिकेटकै दुर्भाग्य बन्न सक्छ’, पूर्वकप्तान अग्रवालले भने, ‘गभर्निङ बडी बनेर काम नगरेसम्म एकदिवसीय मान्यताको कुनै औचित्य रहँदैन।’

अर्का कप्तान राजु खड्काले सबै सफलताको पछाडि अभिभावकको हात भए पनि क्यान निलम्बनमा रहँदा एकदिवसीय मान्यताको उपयोग गर्न गाह्रो हुने बताए। उनले तत्काल क्यान गठन हुनुपर्नेमा जोड दिए।

यसैगरी पूर्व कप्तान विनोद दासले २२ वर्षको अवधिमा नेपाली क्रिकेटले पाउनेभन्दा धेरै गुमाएकाले आफ्नो महत्वपूर्ण समय क्रिकेटमा गुजारेका खेलाडीले केही नपाएको दुःखेसो पोखे। ‘अहिले खेलाडीलाई बेकार क्रिकेटमा लागिएछ भन्ने हिनताबोध भएको छ’, दासले भने।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले खेलाडीको बलिदानले एकदिवसीय मान्यता पाएको बताउँदै नेपाली क्रिकेटलाई बचाउन सबै लाग्नुपर्नेमा जोड दिए। उनले नेपाली क्रिकेटलाई कसरी बचाउने भनेर लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा पूर्वकप्तान परेस लोहनी र उत्तम कर्माचार्य भने उपस्थित थिएनन्।आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू