अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

उनी आफै विश्व बैङ्क बन्द गर्ने नारा लगाउँथे

मनोज घिमिरे, न्यु योर्क २०७४ फागुन २७ गते ९:३७ मा प्रकाशित

स्थानः परराष्ट्र सम्बन्ध परिषद्, न्यु योर्क
समयः दिउसो १ बजे
वक्ताः विश्व बैङ्क अध्यक्ष – जिम योङ किम

‘सुन्दा तपाईँहरूलाई अचम्म लाग्ला, म नै सन् १९९० तिर विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५० औँ वार्षिकोत्सवपछि यो संस्था बन्द गरिनुपर्छ भनेर विरोधमा उत्रिनेमध्ये एक हुँ ।’

दोस्रो कार्यकालमा विश्व बैङ्क हाकिरहेका अध्यक्ष जिम योङ किमले यसो भनेर आफ्नो मन्तव्य सुरु गर्दा धेरैलाई यो सूचना नौलो र आश्चर्यजनक पनि लागिरहेको थियो । जसका लागि यो नयाँ सूचना थियो, उनीहरूको मुहारमा देखिएको आश्चर्यको भाव प्रस्ट प्रकट भइरहेको थियो ।

सेयर बजार साप्ताहिकको लागि अमेरिकाबाट रिपोर्टिङ गरिरहेको मलगायत करिब दुई सयजनाको समूह त्यस दिन विश्व बैङ्कको अध्यक्ष जिम किमसँग अन्तरकृयाको लागि भेला भएका थियौँ, स्थान थियो, न्यूयोर्कस्थित परराष्ट्र सम्बन्ध परिषद्को मिटिङ हल ।

जब अन्तरक्रिया सुरु भयो, कोरियन शैलीको अङ्ग्रेजीमा उनको वाकपटु शैलीले उपस्थित सबै मोहित देखिन्थे । जब, अध्यक्ष किमले भने, ‘म अहिले विश्व बैङ्कको अध्यक्षको जिम्मेवारी दोस्रो कार्यकालमा चलाइरहेको छु । तर, सन् १९९० तिर विश्र्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५० औँ वार्षिकोत्सव पछि यसलाई बन्द गरिनुपर्छ भनेर नारा लगाउनेमध्ये म पनि एक हुँ ।’

मेडिकल डाक्टरबाट विश्व बैङ्क अध्यक्ष बनेका किमले जब यो वाक्य पूरा गरे, आधाजति सहभागी हाँस्न थाने, अन्यका लागि भने यो आश्चर्यजनक सूचना थियो । उनले सहभागीलाई शान्त बन्न सङ्केत गर्दै उनले थपे, ‘भलै, हामी त्यो काम (विश्व बैङ्क बन्द गराउने) का लागि हामी सफल भएनौँ, तर म अहिले त्यही संस्थाको प्रमुखका रूपमा दोस्रो कार्यकाल बिताऊंदैछु ।’

दुई दशक अघिको प्रसङ्ग निकाल्दै किमले भने, ‘जुनबेला चीन र दक्षिण कोरियालगायतका मुलुक चरम गरिबीको चपेटामा थिए, त्यो बेला विश्व बैङ्कका कर्मचारीले ती देशहरूलाई समेत ऋण पत्याउँदैनथे । आजभन्दा २५ वर्षअघि विश्व बैङ्कले लिएको नीति नै एकदम गलत थियो । किनकि, त्यो नीति थियो, ‘पहिले आफै धनी होऊ, अनि आफ्नो जनताका लागि लगानी गर ।’

‘हामीले त्यही नीति बोकेको विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष बन्द गर्नुपर्छ भनेका थियौँ । त्यसपछि पनि लामो समयसम्म त्यो नीति चली नै रह्यो । जेहोस्, चीन र दक्षिण कोरियाले आफ्नो बलबुतामा नै विश्व बैङ्कको नीतिलाई गलत साबित गरिदिए । 

त्यसयता पछिल्ला २५ वर्षमा सबैजसो देशले शिक्षा र स्वास्थ्यमा लगानी बढाइरहेका छन्, तर अझै स्थिर आर्थिक वृद्धिका लागि अझै प्रयाप्त काम भएको छैन । त्यसका लागि अझै मैले सबै देशका प्रमुख तथा अर्थमन्त्रीहरूलाई सहयोग माग्नुभन्दा पहिले आफ्नो बजेटमा शिक्षा तथा स्वास्थ्यको लागि बढी रकम छुट्याऊ र प्रतिफल देऊ भनिरहेको छु ।’

कार्यक्रममा अध्यक्ष किमले सन् २०३० सम्म विश्वबाट गरिबीमुक्त गर्नेसमेत महत्वाकांक्षी लक्ष्यसमेत दोहोर्याए । अध्यक्ष किमसँगको करिब एक घण्टाको अन्तरकृयामा उनको जोड नै स्वास्थ्य र शिक्षामा लगानी बढाएमात्रै आर्थिक स्थिरता र गरिबी उन्मूलनका लागि काम हुने भन्ने नीतिमा थियो ।

मिडियामा देखेको बाहेक विश्व बैङ्कका अध्यक्षसँगको मेरो भेट पहिलो थियो । मजस्तै अरू सञ्चारकर्मी र विश्लेषक तथा विकासकर्मीहरु पनि । उनीसँगको अन्तरकृयामा मैले भोगेको एउटा समस्याचाहिँ उनी आफ्नो क्षेत्रबाहेकको कुरामा बोल्नै चाहँदा रहिनछन् । विश्व बैङ्कको कामकारबाहीबारे सोधिएको बाहेक त्यससँग सम्बन्धित अन्य कुरामा पनि उनले कुनै जवाफ दिन चाहेनन ।

मेरा लागि अर्थात् विकासोन्मुख देश नेपालको सामान्य आर्थिक पत्रकारको हैसियतमा विश्व बैङ्कको अध्यक्ष किमसँग अन्तरक्रिया गर्न पाउनु दिवा सपना भन्दा कम नै थिएन । किनकि विश्व बैङ्कको सम्मेलनहरूमा उनीहरूले पढ्ने र बोल्ने कुराहरू पहिले नै पटक/पटक सम्पादन भएर तयारी धारणा हुने गर्छ । तर, प्रत्यक्ष भेट्दा कुरा गर्न पाउँदा अनौपचारिक कुराहरू पनि आउलान् भन्ने अपेक्षाचाहिँ खासै पूरा भएन । एउटा सामान्य पत्रकारको रूपमा अध्यक्ष किमसँग हात मिलाउनु र मुस्काउनु सिबायको उपलब्धि नभए पनि उनको पर्फमेन्स जोकसैलाई प्रभावित पार्नेखालको थियो ।

अध्यक्ष किमसँग मैले सोधेको थिए, ‘विश्व मानव सूचाकांकमा नेपाल र भारतको अवस्था खासै फरक देखिँदैन, किन ? के विश्व बैङ्कले सधैँ नेपाललाई सधैँ भारतको आँखाबाट हेर्ने गर्छ ? किन नेपालमाभएको विश्व बैङ्कको कार्यालयलाई पनि सानो बनाउँदै लगिएको छ ? किमले मेरा प्रश्नहरू गम्भीर भएर सुने, तर औपचारिक मञ्चबाटमात्रै नभई अनौपचारिक (अफ द रेकर्ड) समेत बोल्न चाहेनन् । उनीसँग भेट्न जानुअघि यी प्रश्नको जवाफ पाउने र नेपाली जनतासामु बाँड्ने चाहना अपुरै रह्यो । 

कसरी बने विश्व बैङ्कका अध्यक्ष ?
छ वर्षअघि २०१२ मा तत्कालीन विश्व बैङ्कका पूर्वअध्यक्ष रोवर्ट बिजोलिकले आफ्नो पदावधिभन्दा ४ महिनाअघि नै राजीनामा दिने घोषणा गरे । त्यसपश्चात् तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले किमलाई विश्व बैङ्कको १२ औ अध्यक्षको रूपमा नियुक्ति दिँदै उनको नामको औपचारिक घोषणा गरेसँगै किमको नाम चर्चामा आएको हो । त्यसअघि उनलाई सो पदका लागि योग्य सूचीमा चर्चासमेत गरिदैनथियो ।

ओबामाले हाइट हाउसबाट किमलाई अध्यक्षको रूपमा घोषणा गर्दा किम किन अध्यक्ष पदका लागि योग्य छन् भनेर केही कारण समेत दिए । ओमावाले भनेका थिए, ‘किम, विश्व बैङ्क हाक्ने पहिलो गैर बैंकर हुन् । तर, विश्व बैङ्क संसारकै लागि गरिबी हटाउने शक्तिशाली संयन्त्र भएकोले किमको पृष्ठभूमिले गरिबी हटाउन मद्दत पुग्नेछ । अब, किमको नेतृत्वमा उनको अनुभवबाट विश्वबाट गरिबी उन्मलन हुनेछ भन्ने आशा व्यक्त गर्दछु ।’

सन् २०१२ सम्म वित्तीय क्षेत्रका व्यक्तिले मात्रै विश्व बैङ्कको अध्यक्ष पदमा नियुक्ति पाउँदै आएका थिए । तर, किम यस्ता भाग्यमानी ठहरिए कि स्वास्थ्य क्षेत्रमा अनुभव भए पनि विश्व बैङ्क हाक्ने पहिलो व्यक्ति बने । मनोविज्ञानमा विद्यावारिधि गरेका र बिरामीको स्वास्थ्य जाच्ने डाक्टरसमेत रहेका किमको विश्व बैङ्क यात्रा आफैमा अनौठो छ ।

कोरियामा जन्मेका किम ५ वर्षको हदा बाबु/आमासँगै अमेरिका बसाई सरेका थिए । उनी १९८७ मा मेडिकल डाक्टर बने । त्यसपश्चात् उनले विश्वभर विभिन्न देशमा क्षयरोग र एचआईभी एड्ससम्बन्धी रोगीहरुको लागि उपचार गर्दै हिँडे । किमको ‘लिंकडिन’ एकाउन्ट अनुसार उनले २००३ देखि २००६ देखि विश्व स्वास्थ्य सङ्गठनको महानिर्देशकको सल्लाहकारको रूपमा समेत काम गरेका थिए । उनले एचआईभी एड्ससम्बन्धी विभागमा रहेका र विश्वभरका ३० लाखभन्दा बढीको उपचारका लागि सक्रिय रहे । त्यसपश्चात् उनले डार्टमार्ट कलेजको अध्यक्षको रूपमा २००९ मा काम गर्न थाले । उनले २०१२मा विश्व बैङ्कमा नियुक्ति पाएका थिए । उनको वार्षिक तलब मात्र ५ लाख डलर छ ।

अहिले उनको दोस्रो कार्यकाल ९ महिनामा चलिरहेको छ । विशेषगरी दोस्रो कार्यकाल इबोला भाइरसलाई हटाउन सफल हुनु, विश्व बैङ्कको प्रशासनिक खर्चमा कमी गर्न सफल हुनु, गरिबी दरमा कमी आउनुलाई उनको सफलता मानिएको छ । जसको कारण उनले दोस्रो कार्यकालका लागि गत १ जुलाई २०१७ मा नियुक्ति पाएका हुन् । ओबामा सरकारले नियुक्त गरेका किमलाई अमेरिकी संस्थापनले विश्व बैङ्कका राम्रो व्यवस्थापकको रूपमा चिन्छन् । (मार्च ११ आईतवारको सेयर बजार साप्ताहिकमा प्रकाशित)

 

 

प्रतिक्रिया