अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

नाइजेरियामा भएको हिंसामा २४ जनाको मृत्यु

बिआरटीनेपाल २०७४ फागुन २३ गते १७:४३ मा प्रकाशित

अबुजा, नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको हो । हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्य गभर्नर साम ओर्टोमले पत्रकारहरूलाई बताउनुभयो ।

उहाँले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गर्नुभएको छ । घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उहाँले बताउनुभयो । अर्का एक जना सरकारी अधिकारीले सोमबार र मंगलबार भएका घटनामा परी मृत्यु हुनेमा विद्यालयका छात्रछात्रा पनि रहेको जानकारी दिनुभयो । हिंसाका घटनाहरूले अरू सयौँ जनालाई प्रभावित पारेको पनि सरोकारबालाहरूले बताएका छन् । 

हिंसा अन्त्यका लागि विभिन्न खालका बैठक तथा छलफलहरू भइरहेको अधिकारीहरूले जानकारी दिएको समाचारमा जनाइएको छ । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनाहरू चाडै नियन्त्रण हुने अपेक्षा गरिएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू