अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

जनयुद्धका मिथकीय पात्रदेखि गृहमन्त्रीसम्मका रामबहादुर थापा ‘बादल’

बिआरटीनेपाल २०७४ फागुन १४ गते १९:२७ मा प्रकाशित

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र ‘बादल’ दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् ।

‘बादल’ अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुगेका छन् ।

एमाले-माओवादी एकताका सेतु

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहकार्य र पार्टी एकताका समेत सेतु थापा राजनीतिक रुपमा इमान्दार र पार्टी राजनीतिमा सधैँ संगठन विभागको नेतृत्वमा रहँदै आएका थिए ।

जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उनलाई माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको ‘इमान्दार’ पात्रका रुपमा लिइन्छ ।

पछिल्लो पटक पार्टी एकता र वाम एकताका लागि नेता थापाले खेलेको भूमिकाका कारण पनि उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ ।

पछिल्ला दिनमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न माओवादी केन्द्रका विभिन्न नेताले चासो देखाएको र विवाद भएको भन्ने चर्चा चलिरहँदा आज मात्रै पार्टीका अध्यक्ष दाहालले नेता थापाको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने जनाउँदै प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका थिए ।

गुल्मीमा जन्म

पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मनुभएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी गरेका छन् ।

विसं २०३१ मा रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट भएपछि शुरु भएको सहकार्य आजसम्म निरन्तर छ । माक्र्सवादी अध्ययन समूह बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका नेता थापालाई हालका माओवादी केन्द्रका नेता अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए ।

वि.सं २०४२ मा नेकपा मशालको केन्द्रीय सदस्य बनेका थापा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा एक मिथकीय पात्रका रुपमा परिचित थिए ।

वाम एकताको बाटोमा

अध्यक्ष दाहालसँग असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाएका नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टी एकतामा समाहित भए ।

बृहत् वाम एकता र सहकार्यलाई अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्दै आएका नेता थापा पछिल्लो पटक एमाले र माओवादी केन्द्रको एकताको एक सूत्राधारका रुपमा परिचित छन् ।

पछिल्लो पटक प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट निर्वाचित थापा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य हुन् । विगतमा माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमाण्डरका रुपमा समेत उनले जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्ने गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार प्रवेश गरेका नेता थापाले जनताको अपेक्षानुसार शान्ति सुरक्षा प्रदान गर्ने र सुरक्षा निकायलाई जनताप्रति जवाफदेही बनाउने बताए । आजको अन्नपूर्ण पोष्टमा खबर  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू