अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

दशरथ चन्दको जन्मघरमा शहीद दिवस

रासस, काठमाडौँ २०७४ माघ १६ गते १८:३५ मा प्रकाशित

बैतडी,  शहीद दशरथचन्दको जन्मभूमि बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मङ्गलवार शहीद दिवस मनाइयो ।

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको शहीद सदनमा विशेष श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २३औँ वार्षिकोत्सवसमेत भएकाले प्रतिष्ठानका सचिव दुर्गादत्त जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अधिकांश वक्ताहरूले शहीदका सपना अझै पनि पूरा नभएकाले शहीदका सपना पूरा गर्ने दिशातर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

यसैबिच, शहीद दशरथचन्दको जन्मघर हेर्न आउने पाहुनालाई सजिलो होस् भन्नका लागि नजिकै होमस्टे सञ्चालनको तयारी पनि भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । बैतडी सदरमुकामस्थित गढीचोकमा रहेको शहीद दशरथचन्दको सालिकमा माल्यार्पण पनि गरिएको थियो ।

अखिल नेपाल महिला सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं ७ का प्रदेश सांसद माया भट्टले शहीद दशरथचन्दको सालिकमा माल्यार्पण गर्नुभयो ।

यस्तै, शहीद दिवसका अवसरमा बैतडीको पुरचौँडी नगरपालिका–९ तल्लादेहीमा देउडा कार्यक्रम सम्पन्न गरिएको छ । बालविवाह र महिला हिंसा न्यूनीकरणका विषय समेटेर महिला उत्थान समाजले अक्सफामको सहयोगमा सो कार्यक्रम सम्पन्न गरेको हो । देउडा कार्यक्रममा सामुदायिक छलफल केन्द्रका महिला सदस्यलगायत २०० जनाको सहभागिता रहेको महिला उत्थान समाजका कार्यक्रम संयोजक काशिसिंह विष्टले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्रीहरू