अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

अमेरिकि सरकार बन्द: आप्रवासी मामिलामा डिमक्रट र रिपब्लिकन बीच कुरा मिलेन

बिआरटीनेपाल २०७४ माघ ७ गते १४:२९ मा प्रकाशित

सरकारी खर्च (बजेट) मा सहमति नभएपछि शुक्रवार मध्य रातदेखि सरकार बन्द भएको छ । आप्रवासीमा मामिलामा रिपब्लिकन र डिमक्रटबीच कुरा नमिल्दा बजेटमा सहमति हुन नसकेको हो ।

कङ्ग्रेस र ह्वाइट हाउस एउटै दलको नियन्त्रणमा हुँदा सरकार बन्द भएको यो पहिलो घटना हो । सरकार बन्द ठिक त्यही समय भएको छ, जुन समय डोनाल्ड ट्रम्प राष्ट्रपति भएको पहिलो वार्षिकोत्सव परेको छ ।

ट्रम्पले भने सरकार बन्द हुनुको कारण डिमक्र्याट भएको बताएका छन् । ‘आज राति उनीहरूले राजनीतिलाई राष्ट्रिय सुरक्षा, सेनाका परिवार, कमजोर बालबालिका र सबै अमेरिकीलाई सेवा गर्न सक्ने हाम्रो क्षमताभन्दा माथि राखे,’ ह्वाइट हाउस प्रेस सेक्रेटरी सारा स्याण्डर्सले विज्ञप्तिमार्फत भनिन्, ‘हामी गैरकानुनी आप्रवासीको मुद्धामा सम्झौता गर्दैनौँ । जबकि, डिमक्र्याटहरुले गैरजिम्मेवारीपूर्ण माग राखेर आफ्नै वैधानिक नागरिकलाई बन्दी बनाएका छन् । यो बाधा उत्पन्न गर्ने कदम हरुवाहरुको हो, विधायकहरुको होइन ।’

यो घटनालाई ट्रम्प र उनका प्रतिनिधिहरूले सिनेटका माइनोरिटी लिडर चक शुमरको नाममा ‘शुमर शटडाउन’ नाम दिएका छन् । डिमक्रटहरुले भने तत्काल प्रतिवाद गर्दै त्यसलाई ‘द ट्रम्प शटडाउन’ भनेका छन् ।

‘शटडाउन (सरकार बन्द) का लागि आधार तयार गरिँदै थियो,’ शुमरले सिनेटमा भने, ‘र, भयो पनि । यसको जिम्मेवार राष्ट्रपति ट्रम्पमात्र हुन् । यो ट्रम्प शटडाउन हो ।’

विधेयक अगाडि बढाउन र ४ हप्ताको लागि सरकार बन्द हुन नदिन ६० भोटको आवश्यकता थियो । रिपब्लिकनसँग ५१ भोटमात्र छ । ट्रम्पले अगाडि बढाएको सरकारी खर्च (बजेट) विधेयक ५०–४९ भोटले पारित हुन सकेन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू