अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

भारतीय पक्षले बनाइरहेको सीमास्तम्भ रोक्न माग

रासस, काठमाडौँ २०७४ माघ ७ गते ९:४९ मा प्रकाशित

काठमाडौँ,  अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले पर्साको वीरगंज महानगरपालिका–१ छपकैयामा भारतीय पक्षले नेपाली भूमि मिचेर बनाइरहेको सीमास्तम्भ तत्काल रोक्न माग गरेका छन् ।

अनेरास्ववियूका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले आज संयुक्त विज्ञप्ति जारी गरी भारतीय पक्षले नेपाली भूमि मिची सीमास्तम्भ गाडेको भन्दै नेपाल पक्षको भूमिको भोगचलनलाई लत्याएर बनाइएको सीमास्तम्भ र गुमराहमा राखिएको सीमानक्सा अविलम्ब पुनरावलोकन गर्न माग गर्नुभएको छ ।

विज्ञप्तिमा कूटनीतिक तवरबाट सीमा समस्याको स्थायी समाधान गर्न पनि सरकारसँग आग्रह गरिएको छ । विज्ञप्तिमा छपकैयामा भारतीय पक्षले मुख्य स्तम्भबाट ३९१ देखि ३९३ सम्म १३८ फिटको दरले तीन किलोमिटरसम्म ठाउँठाउँमा नेपाली भूमि मिचिएको उल्लेख गरिएको छ ।

“नेपालीले वर्षौदेखि भोगचलन गर्दै आएको र नेपाल सरकारद्वारा वितरित लालपुर्जा समेतको प्रमाण हेर्दा करिब ५० बिघाभन्दा बढी नेपाली जमिन मिचिएको छ”–विज्ञप्तिमा भनिएको छ, “सुगौली सन्धिताकाको नदी सिमानाको हवाला दिएर तयार गरिएको सीमा नक्सा नै गलत रहेको र त्यसैमा गम्भीर राष्ट्रघात भएको ठहर छ ।” दुवै विद्यार्थी सङ्गठनको टोलीले आजै छपकैयामा पुगी अवलोकनसमेत गरेको छ ।

सम्बन्धित सामग्रीहरू