अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार

काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटलमा कार्यमा संलग्न बालबालिकाको उद्धार

काठमाडौँ, (रासस) २०७४ पुष ८ गते ८:११ मा प्रकाशित

‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटल लगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ ।

मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बालबालिकालाई स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त संस्थाले सहयोग गरेको हो ।

संस्थाले यही डिसेम्बर १५ भित्र (एक वर्षको अवधि) मा गरेका कार्य प्रगतिको प्रतिवेदन आज यहाँ सार्वजनिक गर्दै विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले उपत्यकाका एक हजार नौ मनोरञ्जन व्यवसायका रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटेलमा अनुगमन गर्दा दुई हजार ७०३ महिला तथा बालबालिका पाइएको जानकारी दिँदै त्यसमा एक हजार ७८३ किशोरी पाइएको बताउनुभयो ।

अनुगमनका क्रममा महिला तथा बालबालिका खुलेर कुरा गर्न नपाउने पाइएको छ, ३०९ बालिका बेचबिखनको जोखिममा रहेको संस्थाले जनाएको छ ।

उपत्यकामा करिब ६० हजार महिला तथा किशोर किशोरी श्रमिकका रूपमा कार्यरत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रोजगार र मानव बेचबिखनका विषयमा ४५ वटा सामुदायिक अभिमुखीकरण तालीमका माध्यमबाट एक हजार ९५३ लाभान्वित गराइएको छ ।

कार्यक्रममा नेपाल स्वतन्त्र होटेल, क्यासिनो र रेस्टुराँ मजदुर युनियनका महासचिव दीपक सापकोटाले सो व्यवसायलाई औपचारिक व्यवसायका रूपमा विकास गरिने जानकारी गराउँदै त्यस क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गरिने बताउनुभयो ।

कार्यक्रममा सहभागी प्रहरी अधिकारीले सो क्षेत्रमा नियमविपरीत बालबालिकालाई श्रममा लगाउने व्यवसायीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै सेवाग्राहीबाट महिला हिंसा तथा यौनजन्य दुव्र्यवहार भएमा सम्बन्धित महिलालाई उजुरी गर्न आग्रह गर्नुभएको छ ।

सम्बन्धित सामग्रीहरू