अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

अन्तराष्ट्रिय ह्विलचेयर त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि नेपाललाई

बिआरटीनेपाल २०७४ पुष २ गते ०:२२ मा प्रकाशित

नेपालले प्रथम अन्तर्रााष्ट्रिय ह्विलचेयर त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि रक्षा गरेको छ । शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक सिरिजको उपाधि रक्षा गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेश १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा समेटियो । बंगलादेशका मोर्सद आलमले सर्वाधिक २० रन बनाए । उज्जवल बैरागीले १७, रिप्पोन उद्दिनले १३ र राजोन हुसेनले ११ रन बनाए । नेपालका विपिन पौड्यालले ३ विकेट लिएका थिए । विष्णु अधिकारी, राम बहादुर तामाङ र हिमाल अर्यालले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले डिगम चेम्जोङ लिम्बुको नटआउट ७९ रनको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । ६२ बल खेलेका डिगमले १० चौका प्रहार गरे । यस्तै नविन राई ५९ रनमा आउट भए । बंगलादेशका रिपोन उद्दिनले २ तथा मोर्सद आलमले १ विकेट लिए ।

त्रिकोणत्मक सिरिजमा नेपाल अपराजित रहने एक्लो टोली हो । नेपालले समूह चरणमा बंगालदेश र भारतलाई पराजित गरेको थियो । नेपालका डिगम चेम्जोङ लिम्वु म्यान अफ दि सिररिज घोषित भए । नविन राई उत्कृष्ट ब्याट्सम्यान, विपिन पौड्याल उत्कृष्ट बलर र राजु गुरुङ उत्कृष्ट विकेट किपर घोषित भए । सबै खेलाडिहरुले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कृत गरे ।

प्रतिक्रिया