अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

सीमा सुरक्षा कडा पार्न नेपाल-भारत सुरक्षाकर्मीबाट संयुक्त गस्ती र निगरानी

बिआरटीनेपाल २०७४ मंसिर १७ गते १७:४० मा प्रकाशित

 

निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउन समेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए । सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्री सहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनलाई दुवैतर्फ अधिकतम चेकजाँच गर्ने सहमति प्राय: सबै जिल्ला प्रमुख र भारतीय समकक्षीबीच यसअघि नै भएको हो । ‘शंका लागेकालाई नियन्त्रणमा लिएर सोधपुछ बढाइएको छ,’ प्रवक्ता दुवाडीले भने, ‘सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सबै पक्ष उत्तिकै सक्रिय र सुझबुझका साथ लागिपरेका छन् । तीन घेराको सुरक्षा रणनीतिमा केही कार्ययोजना हेरफेर गरेर थप समन्वय गरिरहेका छौं ।’ कतिपय स्थानमा तालिमप्राप्त कुकुर उपयोग गरिएको छ । सीसीटीभी मार्फत गरिने निगरानी पनि बढाइएको गृह अधिकारीहरूले बताए ।

नेपाली सेनाले पनि ब्याकअपमा रहेर यस्ता सबै पक्षको निगरानी गरिरहेको छ । सेनाले निगरानीमा कैयन् स्थानमा ‘ड्रोन’ को समेत उपयोग गरेको ती अधिकारीले बताए । ‘समन्वयमा कुनै कमजोरी रहेको भए पनि त्यसलाई चिर्न भरपुर प्रयास भइरहेका छन्,’ ती अधिकारीले भने । पछिल्लो पटक सुरक्षामा कमजोरी भएको भन्दै सरकारको आलोचना हुन थालेपछि सुरक्षा निकाय थप सक्रिय बनेका हुन् । नेपाल–भारत खुला सीमा र सहज आउजाउको फाइदा उठाउँदै आपराधिक समूहबाट विस्फोटक पदार्थ र साना हतियार निर्वाचन लक्षित अवैध ओसारपसार हुन थालेपछि सुरक्षा निकाय थप सतर्क भएका छन् ।

निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था फितलो देखिएपछि सुरक्षा रणनीति नै परिवर्तन गरिएको हो । राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, सादा पोसाक सुरक्षाकर्मी परिचालन, सूचना संकलन र विश्लेषण गरेर नै नयाँ रणनीति तय गरिएको बताइएको छ । ‘सेनाले आफ्नो जिम्मेवारी चौबीसै घण्टा खटेर निर्वाह गरिरहेको र त्यसका लागि सबै पक्षमा निगरानी गर्ने मात्र हो,’ फिल्ड अनुगमन सक्रिय पार्ने काम भएको सेनाका प्रवक्ता सहायक रथि नैनराज दाहालले भने, ‘हामी निकै चनाखोसाथ अघि बढेका छौं । यसमा अन्य निकाय पनि उत्तिकै सक्रिय छन् ।  निर्वाचन सुरक्षा मजबुत छ ।’

निर्वाचनका लागि सबै खाले संयन्त्र चुस्त बनाउने क्रममा सीमा नाकालाई पनि ध्यान दिइएको हो । १९ गतेदेखि तीन दिनसम्म नाका नै पुरै बन्द हुनेछन् । दुवै देशमा निर्वाचन हुँदा सीमामा संयुक्त गस्ती गर्ने प्रचलन पनि छ । संयुक्त टोलीमा नेपालका तर्फबाट सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसबी) का सुरक्षाकर्मी एकै लाममा मिसिएर हिँडेको अधिकारीले जनाए । आजको कान्तिपुरमा समाचार छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू