अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

स्टाइन्ली मुद्धामा ट्रम्पले भने– न्यायको अवमुल्यन

बिआरटीनेपाल २०७४ मंसिर १६ गते १०:२५ मा प्रकाशित

केट स्टाइन्ली हत्याकाण्डका सम्बन्धमा अदालतले गरेको निर्णयलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लज्जास्पद निर्णय’ भनेका छन् । कागजात नभएका एक जना आप्रवासीको गोली प्रहारबाट स्टाइन्लीको सन् २०१५ मा मृत्यु भएको थियो । राष्ट्रपति निर्वाचन अभियानका बेला आप्रवासी सम्बन्धका कडा नीति बनाउने आवश्यकता पुष्टि गर्न उनले यो घटना उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।
‘केट स्टाइन्लीका हत्यारा ओबामा कमजोर सुरक्षा भएको सीमाबाट पटक पटक आए । सधैँ अपराध गरे । हिंस्रक बने । यो सूचना अदालतमा प्रयोग भएन । उनलाई छोडिन न्यायको अवमुल्यन हो । पर्खाल बनाऔं ।’ होजे गार्सिया जराटेलाई छोड्ने अदालतको निर्णयप्रति ट्रम्पले शुक्रवार बिहान ट्वीट गरेका छन्, । अवैधानिक रूपमा अमेरिका आएका जराटेलाई यसअघि ५ पटक फिर्ता पठाइएको थियो ।

अदालतको निर्णय आएको केही घण्टा पछि पनि ट्रम्पले ‘हाम्रो देशका जनता अवैधानिक आप्रवासीदेखि धेरै रिसाउनु अचम्म होइन,’ भन्दै ट्वीट गरेका थिए । अदालतले जराटेलाई हत्या गरेको आरोपमा निर्दोष साबित गरेको थियो । तर, अदालतले जराटेलाई हतियार राखेको अभियोगमा दोषी पाएको छ । जराटेका वकिलले अन्जानमा गोली चलेको दाबी गरेका थिए । जस्टिस डिपार्टमेन्टका प्रवक्ता सेरा फ्लोरेसले जराटेलाई फेडरल चार्ज लगाउने विषयमा सोचिरहेको सिएनएनलाई बताएकी छन् । सिएनएनका अनुसार जराटेका सम्बन्धमा गर्न सकिने सबै विकल्प खुला छ ।

चुनावी दौडानमा ट्रम्पले स्टाइन्लीको मृत्युलाई आप्रवासीमैत्री स्यांकचुअरी सिटी विरुद्ध चेतावनीका रूपमा बाराम्बार प्रस्तुत गरेका थिए । आप्रवासी मामिलामा सङ्घीय सरकारलाई सहयोग गर्न बाध्यकारी कानुन नभएका राज्यलाई स्यांचुअरी सिटी भनेर चिनिन्छ ।

महान्याधिवक्ता जेफ सेसन्सले अदालतको निर्णयपछि सान फ्रान्सिस्कोको स्यांचुअरी सिटी नीतिप्रति आलोचना गरे । स्टाइन्ली काण्डलाई आधार बनाएर रिपब्लिकनहरुले आप्रवासी सुधारसम्बन्धी कानुन बनाएका थिए । केट्स ल नाम दिइएको उक्त कानुन गत समरमा हाउसबाट पारित पनि भइसकेको छ । उक्त कानुनले अवैधानिक रूपमा पुनः अमेरिका छिर्ने आप्रवासीलाई कडा सजायको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू