अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

एन आर एन ए को अध्यक्षमा भवन भट्ट नै किन- विश्वमान आङ्गदेम्बे

बिआरटीनेपाल २०७४ असोज २३ गते २०:५७ मा प्रकाशित

अहिले नेपालमा संसारभरिका ७३ वटा देशबाट एनआरएन प्रतिनिधिहरू एनआरएनहरुको सबै भन्दा ठुलो जमघटमा भेला भएका छन् । यसपालिको जमघटले २ वर्ष अघिको भन्दा किन बढी महत्त्व राख्दछ भने शेष घलेको २ कार्यकाल सकिएर यसपालि नयाँ नेतृत्वको चयन हुँदैछ । अमेरिकाबाट खगेन्द्र जी.सी जस्ता दिग्गज देखि जापानबाट भवन भट्ट जस्ता उद्धमी र समाजसेवीहरु विभिन्न पदमा लड्दैछन । पुरानो तरिकाबाट चलिरहेको एनआरएनएलाई नयाँ तरिकाबाट चलाउन सक्ने खुबी भएका केही आशालाग्दा अनुहारहरु उम्मेदवार छन् । यस्तामध्ये एक अनुहार हुन् जापानका नेपाली उद्धमी अनि समाजसेवी भवन भट्ट, जो अबको एनआरएनएको अध्यक्षको पदमा लड्दैछन । एन आर एन ए लाई पहिलो पटक एक युवा नेतृत्व पाउने अवसर आएको छ । परिवर्तनको एउटा आशा पलाएको छ, मैले भवन भट्टलाई राम्रोसँग चिनेको छैन । हुन त, खगेन्द्र जी.सी. बाहेक अरू उम्मेदवारलाई मैले राम्रोसँग चिनेको छैन । भवन भट्टलाई मैले एक चोटि मात्र भेटेको छु । एटलान्टामा जुन १०-१४ मा भएको “अन्तर्राष्ट्रिय रोटरी सम्मेलन २०१७” मा जापानबाट भाग लिन आउँदा र म पनि यहींको “रोटरी क्लब” बाट भाग लिंदा भेट भएको हो । त्यति बेला उनीसँग मेरो एक-डेढ घण्टा जति एन आर एन सम्बन्धी गहन कुरा भयो । मैले उनले एन आर एन जापानमा गरेका कामहरू र उनको अबको एन आर एन ए को भविष्य सम्बन्धी दृष्टिकोण बुझ्ने मौका पाएँ । त्यसैको आधारमा आज म अबको एन आर एन ए को अध्यक्षमा भवन भट्ट नै किन भन्ने प्रश्नमा आफ्नो विचार राख्दैछु ।

१. अध्यक्षमा राष्ट्रिय च्याप्टरको भूमिकाबाट पहिलो उम्मेदवार
अहिलेसम्म एनआरएनएको अध्यक्षमा उपेन्द्र महतो देखि शेष घले सम्म कोही पनि “च्याप्टर” को भूमिकाबाट आएका छैनन् । यसपालिको चुनाव जिते भने भवन भट्ट “राष्ट्रिय च्याप्टर” को अध्यक्ष भएर “अन्तर्राष्ट्रिय एन आर एनए” को अध्यक्ष हुने पहिलो व्यक्ति हुनेछन । यो चानचुने कुरा होइन । यो एउटा इतिहास हुनेछ । एउटा नयाँ अध्यायको सुरुवात हुनेछ । पहिलोचोटी फेदैबाट आएको नेतृत्वले एनआरएनए हाँक्ने छ । च्याप्टरहरुको “अलंकारिक” जीत हुनेछ । च्याप्टर नेतृत्वहरुमा हौसला बढ्ने छ ।

२. “बटम-अप अप्रोच” को प्रश्रय
भवन भट्ट आफै च्याप्टरबाट आएकाले उनले च्याप्टरहरुलाई प्राथमिकतामा राखी प्रभावकारी बनाउन पहल गर्न सक्नेछन् । राष्ट्रिय तथा स्टेट च्याप्टरहरुको सल्लाह-सुझाव समेटी योजना कोर्ने तथा कार्यान्वयन गर्न सक्नेछन् । “टप-डाउन” को साटो “बटम-उप” अप्रोचलाई प्रश्रय दिन सक्नेछन । यसले साँच्चिकै संसारभरिका ७३ वटा च्याप्टरहरुमा नयाँ लहर अनि जोस-जागर ल्याउने छ । यसले एन आर एन ए लाई बलियो बनाउनेछ ।

३. व्यक्ति हैन पद्धतिको बढावा
मैले कुरा गर्दा भवन भट्ट साँच्चिकै व्यक्ति भन्दा पद्धतिलाई बढावा दिने मान्छे पाएँ । यसमा उनी इमान्दार देखिन्थे । एउटा उदाहरण के भने उनी आफै एक सफल धनी उद्धमी भएर पनि एन आर एन ए लाई धनी भन्दा पनि कसरी सक्षम नेतृत्व आउन सक्ने प्रणाली बनाउन सकिन्छ भन्ने ध्याउन्नमा रैछन । एन आर एन ए मा एउटा कोष खडा गरी निर्वाचन लड्न चाहने उम्मेदवारहरुलाई निर्वाचन खर्च दिई लड्नलाई “आर्थिक तगारो” हटाउने तथा निर्वाचित उम्मेदवारमध्ये बढी घुम-घाम र भेटघाट गर्नु पर्ने पधाधिकारिहरुको खर्च सोही कोषबाट बेहोर्ने तरिकाको परिकल्पना गरेका रैछन । त्यसको लागि कडाइका साथ खर्च “अडिट” गर्ने र “आचार-संहिता” निर्माण गरी लागू गर्ने सोच बनाएका रैछन ।

४. एनआरएनले गर्नु पर्ने उदाहरणीय कामका धनी
उनी एनआरएन जापानका अध्यक्ष हुँदा धेरै उदाहरनिय काम गरी एउटा राम्रो परिपाटी बसालेका रैछन जापानमा । नेपाली समाजलाई सङ्गठित गरी “गुणस्तरीय” एन.आर.एन आई.डी. कार्ड लागू गर्ने काम गरेका रैछन I सो कार्डले नेपालीहरूको विभिन्न रेस्टुराँ देखि ग्रोसरी स्टोरमा ५ % देखि २०% सम्म छुट पाउने हुनाले “एन आर एन सदस्य” बन्दा वर्षमा $२०० देखि $२००० सम्म सजिलै बचाउन सकिने रैछ I यस्तो आइडियाले पनि मानिसहरू “एन आर एन सदस्य” बन्न आकर्षित हुने रैछन I हालसालै एन.आर.एन जापानले “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल” मा २४ वटा जति आअधुनिक सौचालय निर्माण तथा मर्मत-सम्भार गर्ने जिम्मा लियो I यस्तो उदारहनिया काम गर्न विभाजीत समाजले गर्न सक्दैन I एन आर एन जापानले साँच्चै सङ्गठित भएर एन आर एन ले के गर्नु पर्ने हो सांचिकै गरेर देखाएको छ ।

५. अहिलेका राम्रा कामहरूको निरन्तरता
भवन भट्टले हालका र पहिलेका नेतृत्वले सुरु गरेका राम्रा कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् – (१) गोर्खाको लाप्राकमा भूकम्प-पीडितको लागी घर बनाउने योजना, (२) एन.आर.एन भवनको निर्माण, र (३) विजन २०-२० र सामूहिक लगानी I साथै उनले थप दोलखामा भूकम्प-पीडितको लागी घर बनाउने योजना, वैदेशिक रोजगारीमा गएका खाडीदेखि अमेरिकासम्मका नेपालीहरूको बिमा, साना तर रचनात्मक उद्धमिहरुको लागी सहयोग गर्ने ‘स्टार्ट-अप” फण्ड, तथा प्रविधियुक्त “स्मार्ट एन. आर.एन.” बनाउने योजनाहरू अघि सरेका छन् ।

प्रतिक्रिया