अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

अमेरिकी स्वास्थ तथा मानवीय सेवा मन्त्रीद्वारा राजीनामा

बिआरटीनेपाल २०७४ असोज १४ गते १९:४७ मा प्रकाशित

अमेरिकाका स्वास्थ तथा मानवीय सेवामन्त्री टम प्राइसले पदबाट राजीनामा दिनु भएको समाचार छ । राष्ट्रपति ट्रम्प प्रशासनबाट राजीनामा दिने वरिष्ठ मन्त्रीहरुमध्ये उहाँ पहिलो हुनुहुन्छ । उहाँको बारेमा सरकारी ढुकुटीको दुरुपोगसम्बन्धी आरोप थियो । सरकारी कामकाजको सिलसिलामा यात्रागर्दा निजी क्षेत्रका अति खर्चिला जेट विमानहरु चार्टर गरी बारम्बार राष्ट्रको ढुकुटी दुरुपयोग गरेको भनी उहाँको व्यापक आलोचना भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँको राजीनामा तत्काल स्वीकृत गर्नुभएको छ । साथै भर्जिनियाका डन जे. राइटलाई उहाँले कायममुकायम स्वास्थ्यमन्त्रीको रूपमा नियुक्त गर्नुभएको एक विज्ञप्तिमार्फत ह्वाइट हाउसका प्रेस सचिवले जनाएका छन् । डन जे. राइट स्वास्थ उप–सहायक मन्त्री एवम् रोग नियन्त्रण तथा स्वास्थ्य प्रबर्धन निर्देशनालयका निर्देशकको पदमा कार्यरत हुनुहुन्थ्यो ।

मन्त्री पदमा नियुक्त भएपछि गत मे महिनादेखि हालसम्म टम प्राइसले छब्बिस पटक र यस महिनामा एकै हप्ताभित्र पाँच पटकसम्म निजी क्षेत्रका अति खर्चिला जेट विमान चार्टर गरी यात्रा गर्नु भएकोमा सबैजसो अमेरिकी सञ्चार माध्यमहरूले तीव्र आलोचना गरेका थिए । राजनीतिक समाचारहरु सम्प्रेषण गर्ने वेबसाइट, पोलिटिकोका अनुसार प्राइसले आफ्नो यात्रामा मात्र १० लाख अमेरिकी डलर भन्दा बढी सरकारी रकम खर्च गरिसक्नु भएको छ ।

यसमध्ये सेना तथा निजी क्षेत्रका जेट विमान चार्टर गर्दा राष्ट्रको ढुकुटीबाट चार लाख डलरभन्दा बढी रकम खर्च भएको स्वास्थ तथा मानवीय सेवा मन्त्रालयका प्रवक्ताले बताएका छन् । राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको आरोपमा सञ्चार माध्यमहरूले उहाँको तीव्र आलोचना गरेपछि प्राइसले नैतिकताको आधारमा राजीनामा दिनु भएको बताइएको छ ।

साथै, निजी क्षेत्रका विमान चार्टर गर्दा लागेको लागत खर्चमध्ये दामासाहीका हिसाबले आफ्नो सिटको अंश, करिब ५२ हजार अमेरिकी डलर बेहोर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको सो मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

प्राइसले आफ्नो यात्राको क्रममा यति धेरै रकम खर्च गराइ सकेकोमा राष्ट्रपति ट्रम्पले आफू निराश बनेको प्रतिक्रिया दिनुभएको छ । अमेरिकी संसद्मा आन्तरिक बजेट समिति (हाउस बजेट कमिटी) को अध्यक्षको कार्यभार सम्हालेको अवधि होस वा स्वास्थ्यमन्त्री पदमा नियुक्त हुनु भएपछि होस्, प्राइसले फजूल खर्च गरी सरकारी ढुकुटीको अपब्यय गराएको टिप्पणी हुँदै आएको थियो । (रासस÷एपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू