अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

बन्द फिर्तापछि दार्जिलिङमा चहल पहल

बिआरटीनेपाल २०७४ असोज ११ गते १३:४९ मा प्रकाशित

गएको करिब सय दिनदेखि जारी रहेको आम हड्ताल फिर्ता भएपछि भारतीय पर्यटकीय सहर दार्जिलिङको जनजीवन सामान्य भएको छ । लामो समयपछि बन्द खुलेकोले यहाँ चहल पहल बढेको बताइएको छ ।

भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहको अपिलपछि उक्त आन्दोलन फिर्ता भएको अधिकारीहरुले जनाएका छन् । आन्दोलन फिर्ता भएपछि यहाँको जनजीवन सामान्य भएको समाचारमा जनाइएको छ ।

आन्दोलनकारीहरुले गोरखाल्याण्डलाई एक स्वतन्त्र राज्यका रुपमा दिइनुपर्ने अधिकार माग्दै सो आम हड्ताल जारी राखेका थिए । आन्दोलन १०० दिनपछि बुधबार फिर्ता लिइएको छ ।

दार्जिलिङ भारतको पर्यटकीय सहर हो । पर्यटनका लागि प्रसिद्ध रहेको सो सहरमा बिगतदेखि नै बुकिङ गरिएका होटलहरुको बुकिङ रद्द भएको थियो । लामो समयदेखि पर्यटक नआएपछि बजार सुनशान भएको थियो ।

यो आन्दोलनको फिर्तीसँगै यहाँको जनजीवन सामान्यतर्फ फर्किएको र होटलहरुमा बुकिङ सुरु भएको बताइएको छ । पश्चिम बंगालका दार्जिलिङलगायतका क्षेत्रमा बुधबार बिहानदेखि चहल पहल सुरु भएको र होटल एवम् बन्द ब्यापार पनि सुुचारु भएका दार्जिलिङ्बाट प्राप्त समाचारमा जनाइएको छ ।

गोर्खा जनमुक्ति मोर्चाले सो आम हड्तालको आह्वानमा १०० दिनसम्म जारी सो आम हड्ताल फिर्ता भएपछि विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

जनमुक्ति मोर्चाका नेता बिमल गुरुङले यहाँका राजनीतिक दलका नेताहरुलाई भेटेपछि आजै सो आन्दोलन स्थगित गरेको सार्वजनिक जानकारी गराउनुभएको बताइएको छ ।

मङ्गलबार साँझ भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहले आन्दोलन स्थगित गरी शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधानको बाटो खोज्न अपिल गर्नुभएको थियो ।  (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू