अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

रोकिएन पत्रकार हत्या

बिआरटीनेपाल २०७४ असोज ७ गते १४:५७ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीदेखि टाढा रहेको पूर्वी भारतीय राज्य त्रिपुराको प्रान्तीय राजधानी अगरतलाको बाहिरी इलाकामा गत बुधवार एक जना पत्रकारको हत्या भयो । सङ्ख्या गणना गर्दा यो हत्या भारतमा यसै महिनामा भएको दोस्रो पत्रकार हत्या हो ।

भारतमै करिब दुई हप्ता अघि एक जना ५५ बर्षीया सम्पादक गौरी लङ्केशको गोलीहानी हत्या गरिएको थियो । आइटी राज्यको नामबाट सुपरिचित दक्षिण भारतको कर्णाटकको प्रान्तीय राजधानी बङ्गलोरस्थित आफ्नै घरमा गोली हानेर उनको हत्या भएको थियो । उनको हत्या समाचार लेखेकै कारणले भएको पुष्टि पनि भएको छ । किनभने उनले आफूमाथि सुरक्षा खतरा रहेको कुरा पहिले नै सार्वजनिक गरेकी थिइन् ।

भारतमा पत्रकार हत्याको शृंखलाको अहिलेसम्मको अन्तिम सिकार गत बुधवार मारिएका पत्रकार शन्तनु भौमिक बनेका छन् । उनलाई कुटपिट गरी निर्मम हत्या गरिएको थियो । राजनीतिक पार्टीकाबीच जारी रहेको द्वन्द्वको समाचार सङ्कलन गर्न गएका उनलाई उक्त विरोध कार्यक्रममा सहभागी कार्यकर्ताले लाठीले हानेर हत्या गरेका थिए । उनी स्थानीय पत्रिकामा कामगर्ने समाचारदाता हुन् । प्रहरीले दलका कार्यकर्ताले कुटेर हत्या गरेको भनेको छ तर उनीहरुमाथिको कारबाहीका लागि प्रहरी सक्रियता भने कम भएको भारतीय पत्रकार जगतको गुनासो छ ।

गत अप्रिल महिनामा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता सम्बन्धी अनुगमन गरिरहेको समूहले विश्वका १८० राष्ट्रमा गरेको अध्ययनबाट प्रकाशित प्रतिवेदनमा भारतलाई १३६ आंै श्रेणीमा राखेको थियो । प्रेस स्वतन्त्रता, समाचार सङ्कलनमा सहजता, सञ्चारकर्मीको सुरक्षा जस्ता मापदण्डलाई आधार बनाई सो मूल्याङ्कन गरिएको थियो । भारतमा राष्ट्रवादको बहस चल्दा हिन्दु राष्ट्रवादी पत्रकारहरुलाई जहिले पनि ‘अराष्ट्रिय’ विचारधाराका अनुयायी भन्ने आरोप लागेको समेत उक्त समूहले जनाएको छ ।

पत्रकार समाचार सङ्कलन तथा सम्प्रेषणका एक प्रमुख माध्यम हुन । यस प्रकार गोली प्रहार गरेर, कुटपिट वा लाठी प्रहार गरेर वा विभिन्न यातना दिएर सञ्चारकर्मीको हत्या गर्नु एक जघन्य अपराध हो । घटनाको सत्य, तथ्य विवरण जनता वा पाठकसमक्ष सार्वजनिक गरी पाठकको मन जित्न सक्नु नै हरेक सन्चारकर्मीको लक्ष हुन्छ । यही नै पत्रकारिताको प्रमुख धर्म पनि हो । सत्य, तथ्य विवरण सम्प्रेषण गर्ने क्रममा कतिपय समाचार वा विवरण मिठा हुन्छन् भने कुनै कुनै तीता वा पचाउन कठिन पनि हुने गर्छन् ।

निजी स्वार्थ वा आफ्ना नेता, समर्थक, आसेपासेहरुप्रति नतमस्तक वा अन्धभक्त रहने, आलोचना सुन्न नसक्ने दानवीय मनोवृत्तिका निश्चित समूह वा व्यक्ति आक्रोशित भएपछि सो आक्रोश बढ्दै गई अपराधमा परिणत हुने गर्दछ । यही दानवीय मनोवृत्तिले नै तोडफोड, बिनाश वा ब्यक्तिहत्यासम्मको अपराध सिर्जना गरिदिने गर्दछ ।

विश्वको सवैजसो देशमा पत्रकारको सुरक्षा कमहुने गरेका गुनासाहरु प्रशस्त सुन्ने गरिन्छ । उनीहरूले कुनै पनि देशका पत्रकार निरीह र निहत्था हुने गरेका बताउने गरिएको छ । सञ्चारकर्मीको सुरक्षाको उचित व्यवस्था हुन नसकेको हो वा पत्रकारलाई समाचार सम्प्रेषणको सही व्यक्ति वा अङ्ग मान्न इन्कार गर्ने कारणवश सजिलै पत्रकार हत्या हुने गरेको पाइन्छ । पत्रकारलाई राज्यको चौथो अङ्ग मानिन्छ तर त्यस अनुरूपको व्यवहार र सम्मान भने कतै दिने गरिएको पाइन्न ।

विश्वमा द्वन्द्वग्रस्त मानिएका देशहरूमा यस वर्षको सुरुदेखि हालसम्म २५ जना प्रतिभाशाली पत्रकारको हत्या भइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि, यसमा भारतमा मारिएका पत्रकारको सङ्ख्या भने उल्लेख गरिएको छैन । भारतमा मारिएका पत्रकार सहित यसको सङ्ख्या २७ पुगेको छ । यस वर्षको सुरुदेखि अहिलेसम्म इराकमा ६, सिरियामा ४, मेक्सिकोमा ४, यमनमा २, रसियामा २, अफगानिस्तानमा १, दक्षिण सुडानमा १, फिलिपिन्समा १, पाकिस्तानमा १ र भारतमा २ जना पत्रकार मारिएको तथ्याङ्क छ ।

गतवर्ष विश्वभरमा ४८ जना पत्रकारको हत्या भएको पुष्टि भएको थियो । यीमध्ये सिरियामा १४, यमन र इरानमा ६र६, अफगानिस्तानमा ४, सोमालियामा ३, लिबियामा ३, टर्कीमा २, पाकिस्तानमा २ र मेक्सिकोमा २ जना पत्रकार मारिएका थिए ।

मेक्सिकोमा वितेका केही बर्षयता पत्रकारहत्या क्रम बढ्दो मात्रामा रहेको छ । यसलाई स्वतन्त्र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले निकै दुखद र पीडादायी भनी टिप्पणी गरेका छन् । सन् २००० यता २ सय भन्दा बढी पत्रकार मारिएका मेक्सिकोबारे केही समय पहिला प्रकाशित प्रतिवेदनमा जनाइएको थियो । पत्रकार जगतका लागि मेक्सिको विश्वकै एक अति जोखिमयुक्त देशका रूपमा रहेको समेत उल्लेख गरिएको छ । मेक्सिकोमा पत्रकारमाथि यति ठुलो सङ्ख्यामा हिंसाहत्या हुने गरेको भए पनि कुनै निकायबाट उचित सुनुवाइ नहुँदा दण्डहीनताको पराकाष्ठा नाघेको पत्रकारहरुको गुनासो छ ।

कुनै पनि घटनालाई सत्यनिष्ठतापूर्वक जस्ताको तस्तै निष्पक्ष र स्वतन्त्रका साथ नागरिक माझमा ल्याउने अत्यन्त प्रभावकारी माध्यम पत्रकार हुन् । निष्ठावान पत्रकार अमुक पार्टी, पक्ष र विपक्षको भन्ने हुनुहुदैन । तर, विश्वको कुनै पनि कुनामा जारी द्वन्द्वमा यो ध्रुवसत्यलाई बिर्सेर पत्रकारको हत्या गर्ने क्रम यथावत चलिरहेको छ । पत्रकारहरु हिंसा, द्वन्द्व प्राकृतिक प्रकोप लगायतका हरेक घटनामा तथ्य बटुल्न अग्रस्थानमा पुग्नुपर्दछ । कतिपय स्थानमा पत्रकारको केही हदसम्म सम्मान पनि हुने गरेको छ । तर पत्रकारलाई झुठ खबर फैलाउने र कुनै पक्ष वा पार्टीको प्रचार साधनको आरोप लगाएर घृणा गरेको पाइन्छ ।

मारिएका पत्रकारहरुको आफन्त र यो पेसा व्यवसायीहरुले पत्रकारिता व्यवसाय अपनाएकै कारण मारिएकाहरुको हत्याराको खोजी गरी न्यायको कठघरामा उभ्याई दण्ड दिन माग गर्ने गरेका छन् । तर धेरैजसो राज्य अकर्मण्य वा उदासीन रहने गरेका कारण पनि पत्रकारका हत्यारालाई कारबाही हुने गरेको छैन ।

विश्वका पत्रकारको हक अधिकारको संरक्षणमा कार्यरत संस्थाहरुद्वारा हालै प्रकाशित एक प्रतिवेदनमा पत्रकार–हत्याका घटनामा संलग्नमध्ये कम्तीमा पनि ९० प्रतिशत माथि कारबाही हुने गरेको छैन । रिपोर्टर्स विदाउट बोर्डर्स्का अनुसार विश्वका उच्च जोखिमहरुको सूचीमा पत्रकारमाथि हुने हिंसा तेस्रो स्थानमा पर्दछ ।

सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसर अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलनको क्रममा हालसम्म ११० जना व्यावसायिक वा तटस्थ पत्रकार मारिएका दोहास्थित स्वतन्त्र पत्रकारहरुको पेशागत सङ्गठन (दोहा सेन्टर फर मिडिया फ्रिडम) ले अभिलेख राखेको छ । यद्यपि द सिरियन जर्नालिस्ट एसोसियनले भने १५३ पत्रकार मारिएको जनाएको छ । सिरियामा जुन व्यक्ति विरुद्ध आन्दोलन सुरु भई लाखौँ नागरिकको आमहत्या भो उनी अझै सुरक्षित भई राष्ट्रपति पदमै आसीन छन् तर उनकै कारण पत्रकारमाथि असुरक्षा बढ्दैछ भनी पत्रकारहरुका सङ्घ संस्थाहरूले जनाएका छन् ।

विश्वभरिका पत्रकारहरुको साझा संस्था अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट्स् – आइएफजे) जस्ता सङ्गठन नभएका होइनन् । तर पत्रकारको यसप्रकार निर्मम हत्या भइरहँदा विश्वमा उनीहरूको पुकार सुन्ने कोही पनि नभएको प्रतीत दिन प्रतिदिन पत्रकारहरु मारिँदा हुने गर्दछ । यसतर्फ विश्वका प्रजातान्त्रिक वा जस्तो सुकै शासन प्रणाली अंगालेका देशहरूले पनि सोच्नु जरुरी छ । (स्रोतः विभिन्न समाचार संस्थाको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू