अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठुलो जनधनको क्षतिको अनुमान

बिआरटीनेपाल २०७४ असोज ४ गते ५:०६ मा प्रकाशित

मेक्सिकोमा मङ्गलवार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको मापन ७।१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ ।  अधिकारीहरूले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुस भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर बढी सतहमा गरिएकोले ठुलो जनधनको क्षतिको अनुमान गरेको जनाएका छन् । 

मध्य मेक्सिकोको मोरलोस् सहरमा मात्र ५४ जनाको मृत्यु भएको छ । अधिकारीहरूले ५४ जनाको शव भेटिएको र अरू कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरेका छन् । मध्य मेक्सिकोका जोजुत्ला, कयुरोनभाका, टेटेकाला, माइकाल्टान नामका सहरहरूमा बढी क्षति पुगेको अनुमान गरिएको मेक्सिको सरकारका मुख्य सचिव मातिलास क्वीरोजले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार भूकम्पपछि देशैभरि ठुलो त्रास छाएको छ । उद्धारको कार्य जारी रहेको भए पनि पराकम्पनहरु आइरहेकोले चुस्त हुन नसकिरहेको उहाँले जानकारी दिनुभयो । पुएब्ला राज्यम मात्र ४१ ज्नाको ज्यान गएको सो राज्यका गभर्नर टोनी गालीले टेलिभिजन अन्तरवार्तामा भन्नुभएको छ । उहाँले दिनुभएको जानकारीअनुसार ती मध्ये १५ जना त चर्चमा प्रार्थना गरिरहेका बेला भवन भत्किदा मारिएका थिए । राजधानी मेक्सिको सिटीमा पनि ठुलो क्षति पुगेको छ । उक्त सिटीका मेयर माइगल एनगेलले सो सिटीमा मात्र ३० जनाको ज्यान गएको छ । 

सो सिटीमा २९ वटा भवन पूर्ण रूपमा ढलेका छन् । आंशिक रूपमा भवनमा क्षति पुगेको, आवास क्षेत्रका घरहरुमा पनि क्षति पुगेको र बिजुली बत्ती र पानीको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको पनि उहाँले जानकारी दिनुभएको छ ।

अहिलेसम्म पुरै क्षतिको विवरण आएको छैन । तर सहरी इलाकामा पनि ठुलो सङ्ख्याका भवनहरू भत्किनुका साथै त्यसमा परेर कैयौँ स्थानीय पुरिएका वा चेपुवामा परेका अनुमान गरिएको छ ।मेक्सिकोका मेयर एनगेलले दिनुभएको जानकारीअनुसार सो क्षेत्रमा अरू धेरै मानिस मारिएका हुनसक्छन् । उनीहरूका बिचमा त्रास फैलिएको र भागाभागमा धेरै मानिस परेको उहाँले बताउनुभयो ।पुएब्ला मेक्सिकोको मध्य भागमा पर्ने राज्य हो । सोही राज्यमा भूकम्पको केन्द्रबिन्दु रहेको छ । सो राज्यमा मापन गरिएकोमा भूकम्प ७।१ म्याग्निच्युडको रहेको बताइएको छ । 

                                                         Photo: (Xinhua/Francisco Canedo) (dtf)

यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा यो भन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो ।

मेक्सिकोमा यस शताब्दीकै यी दुई वटा सबैभन्दा ठुला भूकम्प हुन् । मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुराएको भन्दै यहाँका सरकारी अधिरकारीहरुले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन् ।
फोटो: गुगल सर्च 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू