अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 20:38

भारतसँग व्यापार घाटा: नियन्त्रणका उपायहरू – विश्वराज अधिकारी

बिआरटीनेपाल २०७४ वैशाख १५ गते ८:११ मा प्रकाशित

भारतसँग हुने व्यापारमा नेपालले वर्षौंदेखि घाटा बेहोर्दै आएको छ । अर्थात् भारतसँग नेपालको व्यापार अति नै असन्तुलित छ। नेपाल–भारत व्यापार भारतको पक्षमा मात्र छैन, नेपालसँग रहेको व्यापारको आफ्नो बलियो स्थितिलाई राजनैतिक सौदेबाजीको अचुक तीरको रूपमा पनि प्रयोग गर्दै आएको छ। नेपालको राष्ट्रिय एवं केन्द्रीय राजनीतिमा दबाब सृजना गर्न वा नेपालले गर्ने ठुला–ठुला आन्तरिक वा बाह्य निर्णयमा प्रत्यक्षरूपले हस्तक्षेप गर्न पनि भारतले आफ्नो बलियो व्यापारिक स्थितिलाई प्रयोग गरिरहेको छ। हामीले ऊर्जा, औषधी र खाद्यान्न नेपाललाई नदिने हो भने नेपालीहरू यातायातविहीन भएर, भोकभोकै बसेर, बिमारीले छटपटिनु पर्नेछ भनी भारतले प्रत्येक पल नेपालका नेताहरूलाई बोध गराइरहेको हुन्छ। र बेलाबेलामा, मधेस आन्दोलनको बहानामा, यी वस्तुहरूको आपूर्ति बन्द पनि गर्दै आएको छ। २०४७ सालपछिको स्थितिमा त नेपालका नेताहरूले केन्द्रीय राजनीतिमा आफ्नो स्थान बलियो बनाउन, सत्ता प्राप्त गर्न, चुनाव जित्न र शक्तिमा निरन्तर बसिरहन भारतको शरणमा जानुपर्ने भएको छ। नेपालका नेताहरूले भारतीय शक्ति केन्द्रहरूलाई दाम राखेर ढोग्नुपर्ने समेत भएको छ। र यो नयाँ स्थितिको सृजना नेपालका नेताहरूको कमजोरीकोले गर्दा भएको हो। अर्को किसिमले हेर्ने हो भने नेपालका नेताहरूलाई भारतीय कूटिल रणनीतिले कमजोर पारेको हो ।

हुन पनि नेपालको भारतसँगको व्यापार घाटा चिन्तनीय स्थितिमा छ। नेपालले एक सय रुपियाँ बराबरको वस्तु वा सेवा भारतलाई निर्यात गर्दा भारतले नेपाललाई एक हजार रुपियाँ बराबरको वस्तु वा सेवा निर्यात गरिरहेको छ। यो भिन्नता ज्यादै ठुलो हो। तर प्रश्न ठुलो भिन्नताको मात्र छैन, मूल प्रश्न के छ भने के नेपाल सधैंभरि भारतको बजार बन्ने र जीवन निर्वाहका लागि आवश्यक पर्ने प्रत्येक वस्तु (ऊर्जा, औषधि, खाद्यान्न आदि) का लागि भारतको शरणमा पर्ने?

नुन, तेल, चामल, दाल, फलपूmल, तरकारीजस्ता आधारभूत आवश्यकताका वस्तुहरू राष्ट्रिय खपतका लागि चाहिने परिमाणमा समेत पनि नेपालले उत्पादन गर्न सक्तैन। यस किसिमका वस्तुहरू निरन्तर भारतबाट ठुलो परिमाणमा आयात गर्नु परिरहेको छ। हुन त अर्थशास्त्रका नयाँ मान्यताहरू अनुसार कुनै पनि मुलुकले आपूmलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवा स्वयम्ले उत्पादन गर्न सक्तैन र लागत एवं स्रोत (Resources) का दृष्टिकोणले त्यस्तो गर्न सक्नु सम्भव पनि हुँदैन। यो आधुनिक व्यापारिक युगमा संसारका लगभग सम्पूर्ण राष्ट्रले विदेशी बजारबाट विभिन्न वस्तु र सेवा खरिद गर्नुपर्छ र गरिरहेका छन्। अमेरिकाजस्तो धनी देशले समेत आप्mनो मुलुकलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवा उत्पादन गर्न सक्तैन र विभिन्न वस्तु एवं सेवा विदेशबाट खरिद (आयात) गर्छ। तर नेपालको स्थितिमा भने निकै ठुलो अन्तर छ। नेपालले स्वदेशमा सस्तोमा उत्पादन गर्न सकिने वस्तु तथा सेवासमेत उत्पादन गर्दैन। भारप्रतिको अति निर्भरता कम गर्न चाहँदैन। यो स्थिति ल्याउन नेपालका नेताहरू मात्र होइन, सामान्य नागरिक पनि जिम्मेवार छन्। यो समस्यालाई जनताले सरकारको समस्या भन्दै पन्छिदै आएको छ। र सरकारले वास्ता गरेको छैन, गम्भीरतापूर्वक लिएको छैन।

नेपाल सरकार एवं नागरिकहरूले जनस्तरमा नै भारतसँग व्यापार घाटा कम गर्ने अठोटका साथ ठोस प्रयास गर्ने हो भने यो कहालीलाग्दो व्यापार घाटा कम पार्न सकिन्छ। भारतसँगको व्यापार घाटा कम पार्न सकिने नेपालसँग एक, दुई होइन अनेक सम्भावनाहरू छन्। यी सम्भावनाहरूको उपयोग नेपालले दीर्घकालीन योजना बनाएर, वचनबद्धताका साथ गर्ने हो भने आउने वर्षहरूमा अवश्य पनि व्यापार घाटा कम पार्न सकिन्छ।

भारत विश्वकै आर्थिक महाशक्तिको रूपमा उदाइरहेको वर्तमान अवस्थामा, नेपालले भारतलाई सामान्य किसिमका वस्तु एवं सेवाहरू निर्यात गरेर व्यापार घाटा कम पार्न सक्तैन। र सामान्य किसिमका वस्तु एवं सेवाहरू उत्पादन एवं निर्यात गरेर भारतसँगको व्यापार घाटा कम पार्न सकिन्छ भनी सोंच्नु पनि ‘दिवास्वप्न’ मात्र हुनेछ। भारतसँगको व्यापार घाटा कम पार्न नेपालले विशेष किसिमका योजनाहरू ल्याउन जरुरी छ । अर्थात् नेपालले खास किसिमका वस्तु एवं सेवा उत्पादन गर्न आवश्यक छ।

अहिले सन् २०१७ मा प्रकाशित तथ्याङ्क अनुसार अमेरिका, चीन, जापान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स, भारत, इटली, ब्रजील र क्यानडा क्रमशः एकदेखि दसौँ (विश्वका) बृहत् अर्थ व्यवस्था हुन पुगेका छन्। अमेरिका सन् १८७१ देखि नै विश्वको सर्वाधिक बृहत् अर्थ व्यवस्था (Largest Economy) रहँदै आएको छ। तर पछिल्लो समयमा भारतले भने आर्थिक विकासको क्षेत्रमा नयाँनयाँ उदाहरणहरू र कीर्तिमान कायम गर्दै चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ। सूचना प्रविधिको क्षेत्रमा सस्तो उत्पादन गर्नमा त भारत विश्वमा नै अग्र स्थानमा छ। भारत अहिले विश्वको सातौँ ठुलो अर्थतन्त्र मात्र हुन पुगेको छैन, आप्mनो वार्षिक कुल गार्हस्थ्य उत्पादनलाई लगभग ९ ट्रिलियन डलर (On the basis of Purchasing Power Parity) तुल्याएर गार्हस्थ्य उत्पादन सर्वाधिक हुने विश्वको तेस्रो ठुलो देश हुन पुगेको छ। जनसङ्ख्याको हिसाबले विश्वको दोस्रो ठुलो देश भए तापनि भारतको प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन वार्षिक ७,१९७ अमेरिकी डलर छ भने नेपालको प्रतिव्यक्ति गार्हस्थ उत्पादन २५७३ अमेरिकी डलर छ। भारतले युरोपियन राष्ट्रहरूले जस्तै आप्mनो कृषिप्रतिको अति निर्भरतालाई क्रमिक रूपमा कम पार्दै लगेको छ। र सेवा उत्पादनको क्षेत्रमा भने अति नै प्रगति गरेको छ। भारतको कुल गार्हस्थ्य उत्पादनमा कृषि १७, उद्योग २६ र सेवा क्षेत्रको ५७ प्रतिशत योगदान रहेको छ। यो तथ्याङ्कले सेवा उत्पादनको क्षेत्रमा भारत तीव्र गतिमा अगाडि बढिरहेको छ भन्ने कुराको पुष्टि हुन्छ।

भारतसँगको व्यापारमा नेपालले निरन्तर भोग्नुपरिरहेको व्यापार घाटा कम पार्न सरकार एवं जनताले तीन कुरामा ध्यान पुर्याउनुपर्ने देखिएको छ।
१. परिमाणद्वारा प्राप्त बचत (-Economy of Scale),
२. तुलनात्मक फाइदा (Comparative Advantages) र
३. निरपेक्ष फाइदा (Absolute Advantages)। सर्वप्रथम यी तीन कुरा के हुन् त्यसबारे जानकारी राखौं।

परिमाणद्वारा प्राप्त बचत
कुनै पनि वस्तु ठुलो परिमाणमा उत्पादन गर्दा प्रतिएकाइ उत्पादन लागत क्रमशः कम भएर जान्छ। त्यस्तो किन हुन्छ भने ठुलो परिमाणमा उत्पादन गर्दा प्रतिएकाइ स्थिर लागत (Fixed Costs) कुल उत्पादनमा वृद्धिका साथै घटदै जान्छ । अर्थात् उत्पादन परिमाणमा वृद्धि र स्थिर लागत प्रतिएकाइ बिच विपरीत सम्बन्ध हुन्छ। जुन किसिमले उत्पादन एकाइ बढदै जान्छ त्यसै अनुरूप प्रतिएकाइ स्थिर लागत घटदै जान्छ। यसरी ठुलो परिमाणमा उत्पादन गर्दा प्रतिएकाइ उत्पादन लागत एकातिर घटदै जान्छ भने अर्कोतिर सस्तोमा उत्पादन गर्ने कार्य सम्भव भएकोले बिक्री मूल्य सस्तो हुन पुग्छ। बिक्रय मूल्य सस्तो भयो भने जुनसुकै बजारमा प्रतिस्पर्धीहरूलाई पराजित पार्दै आप्mनो वस्तु बिक्री गर्न सकिन्छ। भारतले ठुलो परिमाणमा वस्तुहरू उत्पादन गर्न सक्नुले उसले सस्तोमा वस्तुहरू बिक्री गर्न सकेको छ। र यो कारणले गर्दा भारतीय वस्तुहरू संसारभरि सस्तो हुन पुगेको छ। यो कारणले गर्दा नै नेपाली वस्तुहरूले भारतीय वस्तुहरूसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्।

तुलनात्मक फाइदा
तुलनात्मक फाइदा त्यो स्थितिमा प्राप्त गर्न सकिन्छ जब प्रतिस्पर्धीहरूभन्दा सस्तोमा उत्पादन मात्र होइन वितरण र बिक्रीसमेत गर्न सकिन्छ। अर्थात् बजारमा रहेका प्रतिस्पर्धीहरूभन्दा सस्तोमा आप्mनो वस्तु वा सेवा बिक्री गर्न सक्नु तुलनात्मक फाइदा प्राप्त गर्नु हो। दक्ष उत्पादनका साधन, कुशल उद्यमशीलता, उच्च प्रविधि, खास किसिमका प्राकृतिक साधन आदि जस्ता तŒवको सहयोगले गर्दा तुलनात्मक फाइदा प्राप्त गर्न सक्ने स्थितिमा पुग्न सकिन्छ। न्यून ‘अवसर लागत’ का कारण तुलनात्मक फाइदा प्राप्त हुन्छ

निरपेक्ष फाइदा
आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा असल वा उत्कृष्ट वस्तु एवं सेवाहरू उत्पादन तथा बिक्री गरेर निरपेक्ष फाइदा प्राप्त गर्न सकिन्छ। निरपेक्ष फाइदा भनेको वस्तु वा सेवाको उत्पादनमा प्रतिस्पर्धीहरूलाई पराजित गर्न सकिने खास किसिमको क्षमता, विशेषता, ज्ञान, शक्ति राख्नु हो। यस अन्तर्गत वस्तुलाई सस्तो होइन, वस्तुलाई प्रतिस्पर्धीहरूको भन्दा उत्कृष्ट तुल्याउन खोजिएको हुन्छ।

प्रतिक्रिया