अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

क्यानाडामा कुदेर दोधाराको क्याम्पसलाइ सहयोग जुटाउदै भुपेश खड्का

बिआरटीनेपाल २०७४ वैशाख ६ गते ११:५४ मा प्रकाशित

ॠषि बस्ताकोटी, क्यानडा । 
क्यानाडाको क्यालगरी निवासी भुपेश खड्का नेपालको कंचनपुर जिल्लाको “महाकाली पारिको नेपाल” नामले परिचित विकट दोधारा-चाँदनीस्थित भानु बहुमुखी क्याम्पसको पुस्तकालय निर्माणमा सघाउनको लागि “हाफ म्याराथुन” मा सहभागी हुदैछन । स्थानीय स्कोसिया बैङ्कको आयोजनामा यही मे २८, २०१७ मा हुन लागेको हाफ म्याराथुनमा खड्काको सहभागिताको लागि स्थानीय नेपाली संस्था क्यालगरी नेपालिज कम्युनिटी एसोसिएसन (सी एन सी ए ) ले च्यारिटी कार्यक्रम मार्फत सघाएको छ ।

दोधारा-चाँदनीमा जन्मेर आफ्नो बाल्यकाल त्यही बिताएका भुपेश खड्काले दोधारा-चाँदनीको भौगोलिक विकटता , प्राकृतिक प्रकोप र राज्य विहिनताको पीडा नजिकैबाट भोगेका छन् । देशमा थुप्रै राजनैतिक परिवर्तनपछि पनि दोधारा-चाँदनीको अवस्थामा खासै उल्लेख्य परिवर्तन नभएको, त्यहाका बासिन्दाहरू अझै पनि शिक्षा, स्वास्थ्यको पहुचबाट बन्चित रहेको र त्यस क्षत्रमा भएको एउटा क्याम्पसमा पनि भवन, फर्निचर, शैक्षिक सामग्रीको अभाव रहेकोले त्यही क्याम्पसको शैक्षिक सुधारमा सहयोग जुटाउनको लागि आफू हाफ म्याराथुनमा सहभागी हुन लागेको कुरा भुपेश खड्का बताउञ्छन । उनको यो अभियानमा शुभचिन्तकहरूले गर्ने सानो सहयोगले भानु बहुमुखी क्याम्पसमा पुस्तकालय भवन निर्माण, फर्निचर र शैक्षिक सामग्री खरिद गरी दोधारा-चाँदनीको शैक्षिक गुणस्तरमा टेवा पुग्ने अपेक्षा गर्दै सहयोगको लागि अपिल गरेका छन् ।

यो अभियानमा हालसम्म ४,००० क्यानेडियन डलर सङ्कलन गरिसकिएको र यसरी नै सहयोग जारी रहे मे २८ सम्ममा राम्रै रकम सङ्कलन गरी परियोजना सफल हुनेमा खड्का आशावादी छन् । क्यालगरी नेपालिज कम्युनिटी एसोसिएसनले विगतमा पनि नेपालको दुर्गम तथा ग्रामीण भेगका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न र भूकम्प लगायत विभिन्न प्रकोपमा तत्कालीन राहत र पुनर्निर्माणमा सघाउदै आएको र समुदाय सदस्य भुपेश खड्काको प्रस्तावमा हाफ म्याराथुन मार्फत भानु बहुमुखी क्याम्पस दोधारा-चाँदनीको पुस्तकालयको लागि यो च्यारीटी परियोजना संयोजन गर्न पाउँदा खुसी लागेको कुरा क्यालगरी नेपालिज कम्युनिटी एसोसिएसनका निवर्तमान अध्यक्ष दिव्य प्रधानले व्यक्त गरेका छन् । संसारको जुनसुकै स्थानमा बसेर पनि यो अभियानमा सघाउन सकिने र परोपकारी मनहरुको सानो सहयोगले दोधारा-चाँदनीका शिक्षाको पहुच नपुगेका समुदायको परिवर्तनमा ठुलो टेवा पुग्ने हुनाले यो अभियानमा सकेको सहयोग गर्न क्यालगरी नेपालिज कम्युनिटी एसोसिएसनले आह्वान गरेको छ ।

थप जानकारी र सहयोगको लागि लिंक:
http://calgarynepalese.ca/CNCA/?p=2994

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू