अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

यसकारण बन्नैपर्छ तपाईँ हामी एनआरएनको सदस्य —राम सी पोखरेल

बिआरटीनेपाल २०७३ फागुन १६ गते २१:३४ मा प्रकाशित

विगत केही सातादेखि मैले मेरा शुभेच्छुक, आत्मीय मित्रहरू, इष्टमित्रहरुबाट एउटै जिज्ञासा पाइरहेको छु। उहाँहरूको सबैको साझा जिज्ञासा छ—‘रामजी, तपाईँको भूमिका आगामी एनआरएन अमेरिकामा के रहन्छ?’

झन्डै दुई वर्षदेखि म एनआरएन अमेरिकाको उपाध्यक्ष छु। यसभन्दा अघि अमेरिकामा रहेका गिनेचुनेका अधिकांश नेपाली संस्थाहरूमा रहेर मैले नेपाली समुदायलाई त्यो संस्थाको दायराभित्र रहेर गर्नसक्ने, मिल्ने जति योगदान दिइसकेको पनि छु। एनआरएन अमेरिकामा झन्डै दुईवर्षदेखि उपाध्यक्ष रहेर काम गरिसकेको हुँदा स्वभाविक रूपमा धेरै साथीहरूले मलाई अध्यक्षका लागि योग्य रहेको मूल्याङ्कन गर्नुभएको छ। त्यसलाई मैले अस्वभाविक ठान्दिन। तर अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुपूर्ब अमेरिकामा रहेका आम नेपालीहरू माझ यो संस्थाको बारेमा, वर्तमान कार्यसमितिका बारेमा र संस्थाको सदस्यता किन लिने भन्ने प्रश्न उठेको सन्दर्भमा त्यसको निरुपण पहिले गर्नसक्नुपर्छ भन्ने मलाई लाग्दछ।

अमेरिकामा सयौँका सङ्ख्यामा नेपाली संस्थाहरू छन्। पूर्वी तटीय कनेक्टिकटदेखि लिएर पश्चिमको लसएन्जलससम्म झन्डै एकहजार नेपाली संस्थाहरू छन्। जातजाती र नेपालको भूगोलमा बसोबास गरेका आधारमा त्यहाँको कला संस्कृतिको जगेर्ना गर्नेदेखि लिएर राज्यपिच्छे सामाजिक कार्यमा सक्रियताका लागि नेपाली समुदायले संघसंस्थाहरु खोल्दै आएका छन्। नेपालको राजनीतिक दलको शुभेच्छुक संस्था र तिनका शाखाहरु पनि अमेरिकामा प्रशस्तै छन्। जसको अन्तिम उद्वेश्य अन्तत्वगत्वा नेपाली समाजकै हितका लागि बढ्ता केन्द्रित देखिएको छ।

एक जना साथीले मलाई डेढ महिना अघि सुनाए । उनी भन्दैथिए—‘म अमेरिकामा नेपाली मुलकै भनेर चिनिन चाहन्छु। मलाई म उपल्लो जातको भनेर नाक फुलाउनु पनि छैन र म नेपालको यो भूगोलबाट आएको भनेर चिनारी दिनु पनि छैन। मलाई शुद्ध रूपमा नेपालीमै चिनिन इच्छा छ । त्यसका लागि अमेरिकामा रहेका संस्थामध्य एनआरएननै पहिलो र अन्तिम म सदस्य भएको संस्था हो।’ भन्नुको मतलब एनआरएनमात्र यस्तो संस्था हो, जसमा सबै नेपाली अटाउन सक्छन्। नेपालको जुनसुकै भूगोलबाट आएका हुन् या जुनसुकै दल विशेषमा आस्था राख्नेनै किन नहुन्। अनि जुनसुकै सम्प्रदायको भए पनि यो संस्थामा सिर्फ नेपाली भएर पस्न सकिन्छ। जुन सुविधा अरू संस्थाहरूमा पाइदैन।

नेपालीमा एउटा भनाई छ—एकले थुकी सुकी, सयौँले थुकी नदी। हो एनआरएन यस्तै संस्था हो। हामी सबै नेपालीहरू एकजुट हुनसक्यौ भने यो अमेरिकी भूमिमा पनि हाम्रा कुराहरू सुनुवाइ हुनसक्छ। हामीले समुदायका लागि अमेरिकी सरकारसँग माग गर्ने हकहितका सवालहरुमा एनआरएनको प्लेटफर्म सबैभन्दा सशक्त हुनसक्छ। किनकि यो कानुनतः दर्ता भएको संस्था हो। माथिनै उल्लेख भइसक्यो यसमा सबै नेपालीहरू अटाउन सक्छन्। सबैलाई यसले समेट्न पनि सक्छ।

कुनै विषयमा असन्तुष्टी, गुनासाहरु छन् भने यो संस्थाभित्रै रहेर अर्थात् सदस्यता लिएर बहसमा सहभागी हुन सकिन्छ। नकी ‘मेरा लागि यो संस्थाले केही गरिदिएन, मेरो साथीलाई पनि केही गरेको छैन। मेरा आफन्तलाई पनि एनआरएनले केही सहयोग गरेको छैन। त्यसो हुँदा किन सदस्य बन्नु?’ भन्ने धेरैको असन्तुष्टीहरु सुनिन्छ। तर यथार्थतामा त्यसो होइन। व्यक्तिपिच्छेका समस्या र सरोकारलाई संस्थाले, कुनै समय विशेषमा, व्यक्ति विशेषले समाधान गरिदिएनन् होला। तर त्यो भन्दैमा संस्थाको सदस्यतानै नलिने भन्ने हुँदैन।

सदस्यता नलिने हो भने यो संस्थालाई आलोचना गर्ने, सुझाव दिने हक पनि हामीले गुमाउँछौ। यही संस्था हो जसले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियानलाई मुर्त रूप दिनसक्यो। यही संस्था हो जसले मातृभूमिको नागरिकतालाई पनि हामीले कायम राख्नेतर्फ सफलता हाँसिल गरायो।

स्वभाविक हो, सीमित स्रोत, साधनका बीचपनि संस्थाले विगतमा थोरै कामहरू गरेको छ। जे जति गर्न सकिन्थ्यो त्यो प्रयाप्त छैन। यो संस्थाले गर्नसक्ने क्षेत्र र कार्यहरू धेरै छन्। तर त्यसको लागि तपाईँ हाम्रै्र सक्रियता र चलायनमान, क्षमतावान नेतृत्व अवश्य चाहिन्छ। जुन कुरा तपाईँ हामी सबै यो संस्थाभित्र रहेरमात्र सम्भव हुन्छ।

समाजका असल व्यक्तिले संस्था छाड्दै गएभने बाँकी रहने खराबै खराबमात्र हो। त्यतिखेर चाहेर पनि सुधार गर्न सकिने अवस्था रहँदैन। नेपालको राजनीति खराब भयो, नेताहरू खराब भए भनेर तपाईँ हामी पनि यताबाट आलोचना गर्छौ। तर किन खराब भयो भन्ने बारेमा कसैले गहन रूपमा सोचेका छौ त? पक्कै छैनौ।

क्षमतावान, असल, इमान्दार व्यक्तिहरू राजनीतिमा अटाउन सकेनन्। राजनीतिको विकृति सुधार्नका लागि जतिले पहल गरेका थिए तिनले पनि सकेनन् र हार खाए। पढेलेखेका, भिजिन भएकाहरु अहिले राजनीतिमा ज्यादै कममात्र छन्। जे जति क्षमतावान नेपालीहरू छन् ती सबै विदेशिएका छन्। खराबै खराब व्यक्तिको जिम्मामा देशको दलहरू जिम्मा लगाएपछि त्यसबाट हुने उत्पादन पनि स्वभाविक रूपमा खराबै हुन्छ।

मेरो भनाइको तात्पर्य, एनआरएन अमेरिकालाई सुधार्न तपाईहरु अमेरिकामा रहनुभएका सबै नेपालीहरू सक्रिय हुनैपर्छ। अर्काले डलर तिरिदिएर होइन, आफ्नै पसिनाको कमाइबाट आर्जेको १५ डलर तपाईँले तिर्नुभयो भनेमात्र यो संस्थामा तपाईँको पनि हक र अपनत्व रहनेछ। किनकि अमेरिकामा ‘नेपाली हौँ’ भनेर चिनाउने संस्था यहीमात्र हो।

विधानले तोकेको योग्यता पुगेका दुई वर्षदेखि अमेरिकामा बस्दै आएका हामी सबै नेपालीहरूले यसपटक सदस्यता लिएर सक्षम र भिजन भएको नेतृत्व ल्याउनैपर्छ।

मेरो उम्मेदवारीः
यति लेखिसकेपछि स्वभाविक रूपमा साथीहरूले पक्कै जिज्ञासा राख्नुहुनेछ—तपाईँको भूमिका कहाँ रहनेछ आगामी एनआरएनको नेतृत्वमा ?

केही महिना अघि एनआरएनका वर्तमान अध्यक्ष डा. केशव पौडेलले एउटा अन्तरवार्ताको क्रममा भन्नुभएको थियो—‘एक कक्षा पढिसकेपछि दुई कक्षामा जानैपर्छ। जो दुई कक्षामा जाँदैन उ असक्षम विद्यार्थी हो।’ जसले कक्षा दोहोर्‍याउँछ त्यो विद्यार्थी सक्षम हुँदै होइन। मेरा आदरणीय अध्यक्षज्यूको त्यो भनाई असाध्यै प्रेरणादायी बन्यो मेरा लागि।

जसरी १० कक्षाको टेस्ट परीक्षा उत्तीर्ण गरेपछि एसएलसी पास गर्नैपर्छ त्यसै गरी म पनि अब त्यही तयारीमा लागेको छु। किनकि मैले एनआएएन अमेरिकाको उपाध्यक्ष पदमा बसेर दुईवर्ष काम गरिसकेको छु। दुई दशकदेखि अमेरिकामा बस्दै आएको छु। यहाँका थुप्रै संघसंस्थाको नेतृत्व लिइसकेको पनि छु। अमेरिकाका धेरै राज्यहरूमा पुगेको छु। धेरै नेपालीका सुखदुखसँग म एकाकार भएर बसेको छु। यसर्थ साथीहरूले मलाई अध्यक्ष पदका लागि स्वभाविक रूपमा उपयुक्त उम्मेदवार ठान्नुहुनेछ भन्ने मेरो विश्वास हो।

एउटा नेपालीले एनआरएनको सदस्य हुँदा गर्व गर्न लायक अवस्था हुने थुप्रै योजना मसँग छन्। किनकि हामीले एनआरएनको सदस्यता त दियौँ साथीहरूलाई। तर यो संस्थाको सदस्य म पनि छु। यसले यस्तो काम गरेको छ। सदस्य भएपतिछ मैले यस्ता सहुलियत र सुविधा पाएको छु। मेरो समुदायका लागि एनआरएनले यस्तो काम गरेको छ भनेर गर्व गर्न लायक काम हामीले विगतमा गर्न नसकेकै हो।

(लेखक एनआरएन अमेरिकाका उपाध्यक्ष हुनुहुन्छ।)

प्रतिक्रिया