अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

५ सयभन्दा बढी बालिका बलात्कार गर्ने रस्तोगी पक्राउ

बिआरटीनेपाल २०७३ माघ ५ गते १०:५२ मा प्रकाशित

नयाँ दिल्ली, ४ माघ । भारतमा बलात्कार डरलाग्दो सामाजिक अपराधका रूपमा बढ्दै गएको छ । प्रहरीले हालै शृंखलावद्ध बलात्कारमा संलग्न एकजनालाई पक्राउ गरेको छ, जसले ५ सयभन्दा बढी बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार ३८ वर्षीय सुनिल रस्तोगीले १२ वर्ष यता ५ सय भन्दा बढी बालिकालाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसबीचमा उनी एक पटकमात्र पक्राउ परेका भए पनि ६ महिनापछि रिहा भएका थिए । त्यसपछि उनले पुनः बलात्कार गर्दै आएको बताइएको छ ।

सुनिलले २ हजार पाँच सयभन्दा बढी बालिकालाई बलात्कारको प्रयास गरेको र पाँच सयभन्दा बढीलाई बलात्कार गरेको बताइएको छ । सन् २००६ मा उनी एउटा घटनामा पक्राउ परेका थिए । ६ महिनाका लागि उनी उत्तराखण्डको रुद्रपुरस्थिल जेलमा थुनिएको थियो । जेलबाट रिहा भएपछि उनी फेरि बलात्कारमा सक्रिय भएको प्रहरीले जनाएको छ ।

पूर्वी दिल्लीमा एउटा टेलरमा काम गर्ने उनले १२ वर्षमा दिल्ली, गाजियावाद र रुद्रपुरमा बालिकालाई यौनशोषण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विद्यालयबाट फर्किने गरेका ८ देखि १० वर्षका बालिकालाई उनले निशाना बनाउने गरेका थिए । अभिभावकले चकलेट पठाएको छ भन्दै उनले त्यस्ता बालिकालाई फकाएर सुनसान स्थानमा लगेर बलात्कार गर्ने गरेको तथ्य पनि प्रहरीले अनुसन्धानपछि खुलासा गरेको छ ।

१३ डिसेम्बर २०१६ मा उनले दिल्लीको न्यू अशोकनगरमा ७ वर्षकी एक बालिकालाई अपहरण गरी बलात्कार गरेका थिए । १० जनवरीमा दुई बालिका यसै गरी बलात्कृत भए । यी दुई घटनामा निकै समानता थियो । एक बालिकाले सीसीटिभी फुटेजमा आरोपीलाई पहिचान गरिन् ।

उत्तर प्रदेशको सामपुर घर भएका सुनिल सन् १९९० देखि परिवारका साथ दिल्लीमा बस्दै आएका थिए । उनले सन् २००४ सम्म न्यू अशोकनगर क्षेत्रमा एउटा टेलरमा काम गरेका थिए । दिल्लीको मयुर विहारमा परिवारका साथ बस्दै आएका उनलाई सोही वर्ष छिमेककै एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा घरबेटीले निकालिदिएको थियो । त्यसपछि रुद्रपुर गएका उनी हालै एक पीडितले सीसीटिभी फुटेजमा उनको पहिचान गरेपछि पक्राउ परेका हुन् । उनलाई दिल्लीबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू