अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

पथरी शनिश्चरको वडा कार्यक्रम छनौट सुरु

बिआरटीनेपाल २०७३ पुष ४ गते ६:२९ मा प्रकाशित

आगामी आर्थिक वर्ष ०७४÷७५ को बजेटको योजना तर्जुमा सुरु हुन लागेको सन्दर्भमा मोरङको पथरीशनिश्चरे नगरपालिकाले पनि वडा वडाबाट कार्यक्रम छनौट गर्ने काम सुरु गरेको छ ।

१५ वडा रहेको नगर क्षेत्रमा आजदेखि ८ गतेसम्ममा वडाबाट योजना तर्जुमा गरिने कार्यक्रम रहेको नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले बताउनु भयो । जस अन्तर्गत आज वडा नम्बर ६, ७ र ८ को योजना छनौट भएको छ । प्रत्येक वडामा १३ लाखको बजेटका योजना छनौट भएका छन् ।

जसमा, वडा नागरिक मञ्चको समेत समन्वयमा वडा नम्बर ८ का लागि भूटानी शरणार्थी शिविरबाट मुनाल टोल हुँदै ९ नम्बर वडा जोड्ने बाटोमा ५ लाखको बजेट छनौट भएको छ । प्रवद्र्धनात्मक योजनातर्फ साकेला थान, दुर्गा मन्दिर, ओमसिमार गुम्बा घेराबारा सहितका ५०÷५० हजार रुपैयाँका ६ वटा योजना परेका छन् ।

त्यस्तै, आदिवासी जनजातीको धार्मिक र साँस्कृतिक प्रवद्र्धनका लागि ९० हजार, बालविकासतर्फ नवोदय सृजनशिल र नव जागरण बाल क्लबलाई ७०÷७० हजार रुपैयाँको योजना बनाइएको छ ।

ज्येष्ठतर्फ, ५० हजार, दलित ४० हजार, अपाङ्गता भएकाहरुका लागि ४० हजार, महिलातर्फ संगमचोक महिला समूहलाई ६० हजार र वडा महिला समूहलाई ८० हजार बजेटको खाका तयार भएको छ । भौगोलिक हिसावले समेत बढी समस्या भोग्दै आएको जिरिखिम्ती टोलको सडकका लागि केन्द्रस्तरको सडक बोर्डको बजेटका लागि नगरपालिका कार्यालयले पहल गर्ने समेत निर्णय भएको छ ।

नगरपालिकाले २० करोड ३ लाख ४३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट तयार गरेको छ । भौतिक पूर्वाधारतर्फ प्रति वडा ५ लाख, प्रवद्र्धनात्मकतर्फ प्रतिवडा ३ लाख, आदिवासी जनजाती सहित लक्षित वर्गका लागि प्रति वडा २ लाख २० हजार, महिलातर्फ प्रति वडा १ लाख ४० हजार र बालबालिकातर्फ प्रतिवडा १ लाख ४० हजार रकम विनियोजनको सिलिङ तोकिएको छ ।

बजेटमा आन्तरिकतर्फ १ करोड १४ लाख ६० हजार र केन्द्र सरकारबाट ३ करोड १५ लाख १४ हजार गरी ४ करोड २९ लाख ७४ हजारको बजेट योजना देखिएको छ । लक्षित वर्गका लागि कुल १२ करोड ५३ लाख ८८ हजार ५५ रुपैयाँ रहने छ । लक्षित वर्गको रकम कटाएर २ करोड ३२ लाख ८६ हजार ४ सय ४५ रुपैयाँ पूँजीगत रकमको बजेट रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू