अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

आत्मघाती हमला कम्तीमा तीस सुरक्षाकर्मीको मृत्यु

बिआरटीनेपाल २०७३ पुष ३ गते २३:२९ मा प्रकाशित

एडेन, पुस ३ गते । यमनको दक्षिणी सहर एडेनमा आइतबार एक समूह लक्षित आत्मघाती बम हमलामा परी कम्तीमा ३० जना सुरक्षाकर्मीको मृत्यु भएको सैनिक र चिकित्सक अधिकारीहरुले जानकारी दिएका छन् ।

अल एरिस जिल्लामा अवस्थित अल सव्लाबा शिविरमा जम्मा भएका सैनिकहरुको बिचमा नै आत्मघाती आक्रमणकारी बसी विस्फोट गराएको जनाइएको छ ।

आफ्नो तलब लीनका लागि भेला भएका सुरक्षाकर्मीहरुलाई लक्षित भएको यस आक्रमणमा परी अन्य कैयौँ घाइते भएका स्रोतले जानकारी दिएको छ ।

एडेनमै इस्लामिक स्टेट (आइएस) जिहादी समूहले जिम्मा लिएको आत्मघाती आक्रमणमा ४८ जनाको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएको एक घटनाको आठ दिनपछि पुनः सैनिक लक्षित अर्को आत्मघाती बम हमला भएको छ ।

यमनी अधिकारीहरुले यस युद्धग्रस्त देशको दक्षिणी तथा पूर्वी क्षेत्रमा गतिविधि बढाइरहेका जिहादीका विरुद्ध तीव्र कारबाही सुरु गरेका छन् ।

सरकार र यमनको हुथी विद्रोहीबीचको द्वन्द्वको कारण आइएस र अल कायदा विद्रोहीहरुले फाइदा उठाइरहेका छन् ।

साउदी अरेबियासँग आबद्ध संयुक्त सेनाले सन् २०१५ को मार्च महिनाबाट हुथी विद्रोही विरुद्ध कारबाही जारी राखेका छन् ।

यमनमा जारी द्वन्द्वमा परी सात हजारभन्दा बढी व्यक्ति मारिएका छन् । जसमा आधा जसो सर्वसाधारण नागरिक रहेका छन् । रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू