धरान / दुवै मृगौला काम गर्न छोडेपछि जीवन मरणको दोसाधमा परेकी तेह्रथुमको फाक्चमारा गाविस–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुको उपचारको लागि उठायिएको रु.१० लाख ६७ हजार ५१ सहयोग पीडितको परिवारलाई हस्तान्तरण गरिएको छ ।
दुवै मृगौला काम गर्न छोडेपछि आर्थिक अवस्था कमजोर खिनमाया समस्यामा परेकी थिइन । उनको समस्या बुझेर धरान–१६ सुम्निमाचोक घर भई हाल काठमाडौमा बस्दै आएका गायक तथा समाजसेवी प्रदीप थापाको पहलमा खिनमायाका लागि तेह्रथुम हङकङ सम्पर्क मञ्चबाट नौ लाख त्रियासी हजार, छथरे समाज -धरान -१५ बाट उनन्तिस हजार एक सय छियानब्बे र युके, साउदी अरब लगायत बाट चौउन्न हजार आठसय पचपन्न आर्थिक संलकन गरेर सहयोग पठाएको हो । हङकङमा सम्पर्क मञ्चका अध्यक्ष देवेन्द्र खापुङ, खगेन्द्र हाङ तिगेला, राजु तिगेला र नेपालमा प्रदीप थापाको नेतृत्वमा सङ्कलन गरिएको सहयोग २० मङ्सिरमा खिनमायालाई हस्तान्तरण गरिएको छ ।
रु.१० लाख ६७ हजार ५१को सहयोग रकम खिनमायालाई एबिसि टिभीको चर्चित कार्यकर्म एबिसी इन्द्रेणी मार्फत हस्तान्तरण गरिएको गायक तथा समाजसेवी प्रदीप थापाले बताए । बानेश्वरस्थित भेनस इन्टरनेसनल अस्पतालमा डायलासिस गरिरहेकी खिनमायाको केही दिनपछि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरिने भएको छ । उनकी आमा भीमकुमारी लिम्बुले खिनमायालाई मृगौला दिन लागेको बताएकी छिन् ।