अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

अमेरिकी प्रजातन्त्रको उपहास

बिआरटीनेपाल २०७३ मंसिर १६ गते ३:५० मा प्रकाशित

अमेरिकामा डोनाल्ड ट्रम्प ४५ औँ राष्ट्रपतिमा निर्वाचित भएसँगै त्यहाँ हिंसात्मक प्रदर्शन सुरु भयो । संख्यात्मक रुपले प्रदर्शनकारीहरु त्यति धेरै ठूलो संख्यामा नभए तापनि प्रतिकात्मक रुपमा भने यो प्रदर्शनले अमेरिकी प्रजातन्त्रमा नयाँ प्रश्नचिन्ह खडा गरेको छ । प्रदर्शनकारीहरुले जननिर्वाचित राष्ट्रपतिलाई “ट्रम्प हाम्रा राष्ट्रपति होइनन्” भनेर नारा लगाउनुले अमेरिका जस्तो आफूलाई प्रजातन्त्रको पहरेदार ठान्ने देशमा विधिको शासनलाई नै चुनौती दिएको छ । एकछिन गहिरिएर सोचौँ त ! जननिर्वाचित राष्ट्रपति ट्रम्प ती अमेरिकी प्रदर्शनकारीका राष्ट्रपति होइनन् भने अरु को चाहिँ तिनको राष्ट्रपति होलान् ?

भनिन्छ– प्रजातन्त्र खर्चिलो व्यवस्था हो । तर यो महँगो मात्र होइन उत्छृङ्खल व्यवस्था पनि हो । अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिण्टनको पराजय र ट्रम्पको विजयपछि अमेरिकामा भएको उत्छृङ्खल प्रदर्शनले यही कुराको पुष्टि गर्दछ । कतिसम्म भने प्रजातन्त्रले प्रजातन्त्रकै धज्जी उडाउने समेत छुट दिन्छ । जस्तो कि अमेरिकामा भयो । एउटा आँखाले हेर्दा यो धज्जी उडाइलाई अमेरिकी प्रजातन्त्र कति उदार छ, जसले प्रजातन्त्रलाई नै धज्जी उडाउने छुट समेत दिएको रहेछ भनेर हेर्न सकिएला । तर अर्को आँखाले हेर्दा प्रजातन्त्रमा जनमतको निर्णय नमान्नु पनि कुनै प्रजातन्त्र हो र ? यो त प्रजातन्त्रको नाममा अराजकता हो भन्नु पर्छ ।

कल्पना गरौँ त, नेपालमा वा नेपाल जस्तै अन्य कुनै विकाशोन्मुख मुलुकमा कुनै व्यक्तिले जनताको मतबाट चुनाव जित्यो र त्यो मतपरिणामको विरुद्धमा केही समूह उत्रेको भए अमेरिकाले के प्रतिक्रिया जनाउँथ्यो होला ? संभवत त्यस्तो मुलुकलाई प्रजातन्त्रको पाठ सिकाउँदै पहिलो नम्बरमा अमेरिकाले वक्तव्य निकाल्थ्यो होला । वक्तव्यमा अमुक देशमा भएको विकसित घटनाप्रति अमेरिकाको गम्भीर चासो छ पनि भन्थ्यो होला । त्यो देशको शान्ति सुरक्षा र मानव अधिकारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै केही उपदेश पनि दिन्थ्थो होला । तर आज अमेरिकामै अमेरिकी जनताको जनमतप्रति केही समूहले गरेको वेवास्ता र असहमति प्रति चाहिँ अमेरिका के सोच्दै होला ? अमेरिका आफ्नो देशको प्रजातन्त्रलाई विश्वका अन्य मुलुकको प्रजातन्त्रभन्दा उदार र उत्कृष्ट प्रजातन्त्र ठान्छ ।

अमेरिकामा संविधानको निर्माण गर्दै गर्दा बेलायतमा राजतन्त्र नै भएकोले आफ्नो संविधानमा बेलायतको राजनीतिक प्रणलीका प्रभावहरु नपरुन भन्ने चाहना अमेरिकाले राखेको थियो । अमेरिकाको प्रजातन्त्रले भविष्यमा विश्वमा नै आदर्श नमूना प्रस्तुत गरोस् भन्ने अपेक्षा अमेरिकनहरुको थियो । अहिले उनीहरु आफ्नो त्यो विगतको दाबी सत्य सावित भएको प्रचार गरिरहेका छन् । आफूले अपनाएको प्रजातन्त्रको “मोडल”लाई मात्र उत्कृष्ट राजनीतिक व्यवस्था ठान्ने र विश्वका प्रजातान्त्रिक मूलुकसँग मात्र सुमधुर सम्बन्ध विस्तार गर्ने तथा कतै प्रजातन्त्र माथि खतरा देखिनेबित्तिकै सबैभन्दा पहिलो प्रतिक्रिया जनाउने राष्ट्रको रुपमा अमेरिकाले आफूलाई विश्वसामु चिनाउने प्रयास गरिरहेको छ । तर अमेरिकाको आन्तरिक प्रजातन्त्रको संस्कृति सोचेजस्तो रहेनछ भन्ने देखिएको छ ।

प्रजातन्त्र के हो ? यो शब्दलाई गनिनसकिने गरी विभिन्न अर्थमा व्याख्या गरिएको छ । अमेरिकाको बुझाइमा उनीहरुको संविधानले निर्वाचित राष्ट्रपतिलाई शक्तिशाली कार्यकारी प्रमुख र निर्वाचित कंग्रेसलाई शक्तिशाली विधायक बनाएको छ । न्यायपालिका कार्यपालिकाको प्रभावबाट मुक्त छ । मन्टेस्क्यूले भने जस्तो शक्ति पृथककीकरण र शक्ति सन्तुलनका अवस्था अन्य देशको तुलनामा अमेरिकामा बढी प्रभावकारी छ । अमेरिका विधिको शासनमा विश्वास गर्दछ । यो नै प्रजातन्त्रको उच्चतम नमूना हो ।

तर यो अमेरिकीहरुको दाबी मात्र हो कि व्यवहार पनि हो भन्ने कुरामा आज प्रश्न उब्जेको छ । किनभने त्यहाँ जनमतमाथि धावा बोलिएको छ । प्रजातन्त्रका केही विशेषताहरु छन्, त्योमध्ये महत्वपूर्ण विशेषता हो– अवधिक निर्वाचन, बालिग मताधिकार र मतपरिणामको स्वीकारोक्ति । अनि सबैभन्दा ठूलो प्रजातन्त्र भनिएको देशमा जनमतको परिणामलाई स्वीकार नगर्दा प्रजातन्त्रमाथि प्रश्न उठ्दैन ? यसको उत्तर अमेरिकासँग अब के हुन्छ ?

प्रजातन्त्रको सुरुवात आजभन्दा पच्चीससय वर्षअगाडि ग्रीसबाट भएको हो । तर अमेरिकनहरु प्रजातन्त्र अमेरिकाको देन मान्छन् । खासगरी आधुनिक प्रजातन्त्रको विकास अमेरिकाबाट भएको अमेरिकीहरुको दाबी छ । त्यसैले अमेरिका आफूलाई विश्वकै प्रजातन्त्रको प्रवक्ता ठानिरहेको छ । तर प्रवक्ताकै मुलुकमा प्रजातन्त्रको यो बेहाल छ ।

सन् १७८७ मा अमेरिकी संविधान बन्दै थियो । प्रस्तावित संविधान पर्याप्त प्रजातान्त्रिक छैन भनेर आलोचना भइरहेको थियो । त्यसबेला संविधानको प्रमुख निर्मातामध्येका र आफ्नो समयका राजनीतिक शास्त्रका असाधारण ज्ञाता र तत्कालीन प्रभावबाली राजनीतिज्ञ समेत रहेका जेम्स म्याडिसनले भनेका थिए– “नागरिकहरु रहने यस्तो समाज जहाँ नागरिकहरु आफू स्वयम् उपस्थित भई सरकार निर्माण गर्न र प्रशासन चलाउन सक्तछन्, त्यो नै विशुद्ध प्रजातन्त्र हुन्छ ।” यो भनाईलाई थप पुष्टि गर्दै अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकन (१८६१–६५) ले “जनताद्वारा, जनताकै लागि, जनताबाट गरिने शासन”लाई प्रजातन्त्र भनेका थिए । यस्ता अनेकन प्रजातन्त्रको व्याख्या र अभ्यास गर्दै आएको अमेरिकाले आफूलाई अमेरिकाको मात्र नभएर विश्वकै प्रजातन्त्रको मालिक ठान्नुु उसको बुझाइमा अस्वाभाविक थिएन होला । तर व्यवहार त्यो खै ?

निर्वाचनका विभिन्न नमूनामध्ये पहिलो टुङ्गो पार गर्नेले चुनाव जित्ने प्रणाली (पटुपाचुजी) अन्तर्गत अमेरिकामा ट्रम्प विजयी भएका हुन् । भलै हिलारीको पक्षमा पनि मत उल्लेख्य थियो । तर निर्वाचन पद्धतिलाई स्वीकार गरेपछि जतिसुकै मतदाता र समर्थक हिलारीका पक्षमा भए पनि अब त्यसको कुनै अर्थ छैन । चार वर्षका लागि ह्वाइट हाउसको ताला साँचो ट्रम्पको हातमा परिसक्यो । कसैले माने पनि नमाने पनि जनवरी २०१७ बाट ट्रम्प शक्तिशाली अमेरिकाका ४५औँ शाक्तिशाली राष्ट्रपति बन्नेछन् । आखिर हिलारी पक्षधरका विरोध र आक्रोशका स्वर सेलाएर जानेछन् । यसले व्यक्तिगत रुपमा ट्रम्पलाई केही फरक पर्ने छैन । मात्र यत्ति हो कि यो निरर्थक विरोध र आक्रोशले अमेरिकी प्रजातन्त्रमा धब्बा भने लगाएको छ । संविधानले गरेको व्यवस्थाको प्रक्रिया बमोजिम निर्वाचित राष्ट्रपतिलाई नै चुनौती दिँदै राष्ट्रपति मादिन्न भन्नु त्यस्तो पनि काहिँ प्रजातन्त्र हुन्छ ?

अमेरिकीहरुले सन् १७८७ मा नै संविधानमा प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको व्यवस्था गरेका थिए । अमेरिकाको संविधानले झण्डै दुई शताब्दीको यात्रा पार गरी ४५ औँ राष्ट्रपति निर्वाचित गर्न लाग्दा पनि अमेरिकामा प्रजातान्त्रिक संस्कार बसेको रहेनछ । सायद अमेरिकाले गौरवशाली दाबी गरेकोे प्रजातन्त्रमा धमिरा लागेको हो कि ? होइन भने आजको आधुनिक युगमा प्रजातन्त्रको विकल्प प्रजातन्त्र भनिरहँदा जनमतको विकल्प पनि जनमत नै हुन्छ भने जनताले चुनेको राष्ट्रपतिलाई हामी राष्ट्रपति मान्दैनौँ, ट्रम्प हाम्रा राष्ट्रपति होइनन् भन्ने उग्रता अमेरिका जस्तो मुलुकमा कताबाट उब्जियो ?

अमेरिकाको येल विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक रबर्ट ए डाहल गर्वका साथ भन्छन्– “विगत दुई शताब्दीमा अमेरिकीहरुले एक किसिमको राजनीतिक संस्कृति, दक्षताहरु र अभ्यासहरु विकसित गरिसकेको देखिन्छ ।” के डाहलको यो दाबी सत्य हो ? सत्य हो भने खै अमेरिकीहरुमा राजनीतिक संस्कार ? प्रजातन्त्रमा व्यक्तिले गरेको गलत कर्मको विरोध गर्ने हो, व्यक्तिको विरोध गर्ने होइन । ट्रम्पले जिम्मेवारी सम्हाल्न नपाउँदै के त्यस्तो कुकर्म गरे ? जसले गर्दा केही अमेरिकीहरु उनलाई राष्ट्रपति मान्न तयार छैनन् ।

के अमेरिकी प्रजातन्त्रमा जे गरे पनि त्यो प्रजातन्त्रकै अभ्यास हो ? कि ठूलाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत भने झैँ अमेरिकाले जे गर्यो त्यो नै प्रजातन्त्र हो भन्नुपर्यो । यदि त्यसो होइन भने अब अमेरिकाले अरुलाई प्रजातन्त्रको पाठ सिकाउने नैतिक धरातल गुमाएन र ?
सायद अरुलाई सिकाउनेहरु सबै कुरामा पूर्ण हुँदैनन् । सायद उनीहरुले सिक्नुपर्ने धेरै कुरा बाँकी हुन्छन्, तर आफ्ना कमजोरी लुकाउने प्रयास गरिन्छन् । अरुलाई आदर्शको पाठ सिकाउनेहरु आफू आदर्श नहुन पनि सक्तछन् । विश्वलाई नै प्रजातन्त्रको पाठ सिकाउनेहरु आफू चाहिँ प्रजातन्त्रिक अभ्यासमा कसरी चुक्छन् भन्ने कुरा अमेरिकामा डोनाल्ड ट्रम्पको विजय पछि केही अमेरिकीहरुको हिंसात्मक प्रदर्शनले देखायो । हार स्वीकार नगर्ने प्रजातन्त्र कस्तो हुन्छ ? आफूलाई आधुनिक प्रजातन्त्रको जननी दाबी गर्ने अमेरिकाले अब विश्व सामु यो प्रश्नको उत्तर विधिको शासनको अदालतको कठघरामा उभिएर दिनुपर्ने छ । अन्यथा विश्वले अमेरिकी प्रजातन्त्रको उपहास गर्नेछ ।

 

tikaram.pokharel@gmail.com

(मोबाइल -९८५१०५३१२७)

प्रतिक्रिया