अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

हिन्दूराष्ट्रको मुद्दामा विभिन्न समूह संगठित, पूर्वराजा ज्ञानेन्द्र सक्रिय नहुने

बिआरटीनेपाल २०७३ मंसिर १४ गते २०:०५ मा प्रकाशित

 संविधान संशोधनको तयारी भइरहेका वेला हिन्दूराष्ट्रका लागि विभिन्न समूह संगठित भएका छन् । हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिन ती समूहले विभिन्न अभियान चलाउँदै छन् ।

हिन्दूराष्ट्रकै मुद्दामा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको छ । विश्व हिन्दू महासंघको नेतृत्व पुनर्गठन भएको छ भने केशरबहादुर विष्ट, बालकृष्ण न्यौपानेलगायतले नेतृत्व गरेको समूह पनि हिन्दूराष्ट्रका लागि सक्रिय भएको छ ।

कांग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको ‘सनातन हिन्दूराष्ट्रका लागि महाअभियान’ले बुधबार काठमाडौंमा पार्टी निकटस्थ र शुभेच्छुकहरूको भेला बोलाएको छ । गत वर्ष संविधान जारी हुनुअघि नै सेलाएको खड्का नेतृत्वको महाअभियानले संविधान संशोधनको तयारी भइरहेका वेला दबाब दिन सक्रियता बढाएको हो ।

महाअभियानका नेता देवप्रकाश त्रिपाठीका अनुसार बुधबार बोलाइएको भेलाले हिन्दूराष्ट्र, गणतन्त्र, संघीयतालगायतबारे धारणा तय गर्ने छ । भेलामा कांग्रेस महासमिति सदस्य हरिबोल भट्टराईको नेतृत्वमा रहेको हिन्दूराष्ट्रका लागि नागरिक संघर्ष समितिमा आबद्धहरू पनि सहभागी हुनेछन् । ‘यसपटक हामीले संघीयता र गणतन्त्रका विषयमा पनि ठोस धारणा ल्याउँदै छौँ,’ त्रिपाठीले भने । महाअभियानले लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दूराष्ट्रका पक्षमा आफूलाई उभ्याएको छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइराला पनि हिन्दूराष्ट्रका पक्षपाती हुन् । नेता खड्काको हिन्दूराष्ट्र अभियानमा अन्य केन्द्रीय सदस्यले पनि मुद्दामा समर्थन गर्ने खड्कानिकट नेताहरूको दाबी छ । उनले बोलाएको भेलामा वनमन्त्री शंकर भण्डारी, कांग्रेस नेताहरू तारानाथ रानाभाट, लक्ष्मण घिमिरेलगायत पनि सहभागी हुँदै छन् ।

के गर्दै छ विश्व हिन्दू महासंघ ?
विश्व हिन्दू महासंघले राजासहितको हिन्दू अधिराज्यका पक्षमा गतिविधि गरिरहेको छ । ४ देखि ६ कात्तिकसम्म भएको महासंघ अधिवेशनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गरेका थिए । महासंघमा यसअघि संरक्षक रहेका नेपाली सेनाका पूर्वउपरथी तथा तत्कालीन राजाका मानार्थ शाही एडिसी भरतकेशर सिंहले अहिले नेतृत्व गरेका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन बास्तोला हाल भारत भ्रमणमा छन् । उनले भारतका केन्द्रीय मन्त्रीदेखि भाजपाका नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । भाजपाका नेता तथा उत्तरप्रदेशबाट निर्वाचित लोकसभा सांसद योगी आदित्यनाथ पनि महासंघसँग निकट छन् । राजासहितको प्रजातन्त्र स्थापनामा महासंघको जोड छ । यसलाई आदित्यनाथले खुला समर्थन गर्दै आएका छन् ।

‘हाम्रो राजनीतिक संगठन होइन, तर राजसंस्था नरहे धर्म नष्ट हुन्छ भन्ने अभिप्रायसहित हामी आएका हौँ, आगामी कार्यक्रम के गर्ने भन्नेबारे छलफल भइरहेको छ,’ महासंघका एक पदाधिकारीले भने, ‘अब हिन्दूराष्ट्रका लागि हामी सक्रिय हुन्छौँ । धर्म बचाउन हिन्दू अधिराज्य चाहियो भन्ने हाम्रो निष्कर्ष हो ।’

पूर्वराजा ज्ञानेन्द्र सक्रिय नहुने
पूर्वराजा ज्ञानेन्द्र शाह विश्व हिन्दू महासंघको कार्यक्रममा सहभागी भएर भाषण दिएबाहेक प्रत्यक्ष रूपमा हिन्दूराष्ट्रका लागि सक्रिय छैनन् । पछिल्लो समय भारत र चीन पुगेर फर्किएका पूर्वराजाले यो अभियानका लागि लगानी गर्ने इच्छासमेत नदेखाएको उनीनिकटहरू बताउँछन् । राजसंस्था पुनस्र्थापना र हिन्दूराष्ट्रका लागि हुने कार्यक्रम वा गतिविधिमा समर्थन रहने, तर आफू सक्रिय पनि नहुने, खर्च पनि नगर्ने पूर्वराजाको रणनीति छ । ‘पूर्वराजा हामीले सोचेजस्तो उत्साहित हुनुहुन्न,’ ज्ञानेन्द्रका एक सहयोगीले भने, ‘तर, अहिले माहोल बनिरहेकोमा उहाँ खुसी हुनुहुन्छ ।’

यस्तो छ राप्रपाको तयारी
राप्रपा नेपाल र राप्रपाबीच ६ मंसिरमा एकीकरणपछि हिन्दूराष्ट्र स्थापनाको एजेन्डालाई प्राथमिकतामा राखिएको छ । राप्रपा नेपाल समूह राजसंस्थासहितको हिन्दूराष्ट्रको पक्षमा र राप्रपा समूह गणतन्त्रसहितको हिन्दूराष्ट्रका पक्षमा छ । तर, महाधिवेशनसम्म पार्टीको मूल वैचारिक लाइन हिन्दूराष्ट्र नै रहेको राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले बताए ।

संसद्मा ३७ सिट रहेको सत्तारुढ राप्रपाले हिन्दूराष्ट्र स्थापनाका लागि अभियान मात्र नभएर संविधान संशोधनमा समर्थन गर्न धर्मनिरपेक्षता हटाउने विषयलाई पनि मुद्दा बनाउने भएको छ । ‘धर्मनिरपेक्षतालाई हटाएर सनातन हिन्दूराष्ट्र लेख्ने कुरामा अन्य दल सहमत भएको अवस्थामा मात्रै हामीले संविधान संशोधनलाई समर्थन गर्ने हो,’ राप्रपाका प्रमुख सचेतक गिरीले भने, ‘होइन भने हामी सत्तारुढ नै भए पनि संशोधनको सरकारी प्रस्तावको समर्थन गर्दैनौँ ।’ उनले हिन्दूराष्ट्रका पक्षमा देशव्यापी कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू