अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार

बिआरटीनेपाल २०८१ असोज १ गते ७:३४ मा प्रकाशित

देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा बिस्तार भएको छ। स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेल गत असार ३१ गते मन्त्री भएपछि सबै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तारको निर्णय गर्नुभएको थियो । उहाँको उक्त निर्णय दुई महिनाभित्र कार्यान्वयनमा आएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले पहिलो निर्णयका रुपमा क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गर्नुभएको थियो ।

सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा बिस्तार गरिएपछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो। यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा सुरू भएकोमा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो। भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुर मार्फत् गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामासमेत क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गर्नुभएको थियो । आफूले गरेको पहिलो घोषणा पूर्ण रुपमा कार्यान्वयनमा आएको जानकारी दिँदै मन्त्री पौडेलले अबको चरणमा मानव अङ्ग प्रत्यारोपण तथा मुटुको उपचारका सेवा समेत विस्तार गर्न सकिने बताउनुभएको छ । संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ। अब सेवा बिस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन्।

स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने सचिवालयले जनाएको छ। यसअघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू