अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

ताप्लेजुङमा पहिराेका कारण दर्जनौँ परिवार विस्थापित, ५५ वटा पशुचौपाया मरे

बिआरटीनेपाल २०८१ असार ३ गते ५:२३ मा प्रकाशित

निरन्तरकाे वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् ।गएको बुधवारदेखि ताप्लेजुङमा निरन्तर पानी परिरहेको छ । गए राति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात जना किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनुभयो ।यस्तै हिजो पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ । यसैगरी सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा हिजाे गएको पहिरोले छ वटा परिवार विस्थापित भएका छन् ।

यस्तै सिरिजङ्घा–७ मा नवराज लिम्बू र शुक्रराज लिम्बूको घर तथा गोठ पूर्णरूपमा क्षति भएको छ । यसैगरी सिरिजङ्घा–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । पहिरोले खानेपानीमा क्षति पुर्‍याउँदा मामाङ्खेका तीन सय परिवार खानेपानीबाट वञ्चित हुनुपरेको पनि स्थानीयले जानकारी दिएका छन् । यसैगरी याम्फदिनमा पनि एक दर्जनभन्दा धेरै परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिनुभयो ।

ताप्लेजुङमा गएको बुधवारदेखि पहिरोमा परि पाँच जनाको ज्यान गइसकेको छ । ५५ वटा पशुचौपाया मरेका छन् । मनसुन पूर्णरूपमा सक्रिय नहुँदै बाढी पहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङका ६१ मध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू