अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

सहकारी ठगीविरुद्ध कांग्रेसको प्रदर्शन

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:३२ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आइतबार सडक प्रदर्शन गरेको छ । गएको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आइतबार काठमाडौंमा सहकारी ठगीविरुद्ध र पीडित पक्षमा कांग्रेसले प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गरिएको छ । कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गरेको हो ।

विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ । मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाहरूले मात्रै बचतकर्ताको दुई खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको अवस्थामा पनि सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

“३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठितरूपमा अपचलन, ठगी र दुरुपयोग गरेका छन् । हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएका छन्,” कांग्रेसले भनेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निकालिएको र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू