अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

कम्युनिस्ट पार्टीहरुको विभाजनको बारेमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०८१ वैशाख १० गते ६:५० मा प्रकाशित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारणका बारेमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ । सोमवार नेकपा(एमाले)ले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिस्ट आन्दोलनको हिरक जयन्ती मनाउँदै गर्दा समग्र आन्दोलनको गहन समिक्षा गर्नुपर्ने बताउनुभयो ।पूर्वराष्ट्रपति भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक टुटफुट र विभाजन भएको भन्दै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हावी हुँदा भएको हो भन्ने सम्वन्धमा समिक्षा हुनुपर्ने बताउनुभयो । कम्युनिस्ट आन्दोलनको विभाजनको सन्दर्भमा ठोस निष्कर्ष निकाल्न नसक्दा भविष्यमा थप सफलता हासिल गर्न नसकिने उहाँको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले सबै राजनीतिक दलहरुले लिएको नीति र आदर्शमा विचलित आएको छ कि भनेर बेलाबेलामा समिक्षा गर्नुपर्ने पनि बताउनुभयो । उहाँले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु अबको मुल गन्तव्य भएको बताउनुभयो ।

‘नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हिरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समिक्षासमेत गरिनुपर्दछ भन्ने मलाई लागेको छ । सँगै स्थापना भएका अरु देशका कम्युनिस्ट पार्टीले किन, के, कति सफलता हासिल गरे ? र के–कस्ता विफलता बेहोर्नुपर्यो  ? नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साच्चैँ सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदिय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ । साच्चै भन्ने हो भने लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन लागेका के वामपन्थी, के गैरवामपन्थी, सबै राजनीतिक दलहरुले आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ, छैन बेलाबेलामा समिक्षा गर्दै अगाडी बढ्नुपर्दछ । आजको दिनले सम्वद्ध सबैलाई यस विषयमा चिन्तन गर्ने प्रेरणा प्रदान गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु ।’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले महत्वपूर्ण विषयहरुमा सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले छिमेकी मुलुकहरु भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाएर विकासका निम्ति साझेदारी गर्नुपर्ने बताउनुभयो । उहाँले दलहरुले परराष्ट्र तथा विदेश सम्बन्ध, जलवायु संकट, अन्तर्राष्ट्रिय सिमा सुरक्षा, सार्वजनिक स्वास्थ्य, गुणस्तरिय शिक्षा र रोजगारी प्रवद्र्धनजस्ता विषयमा साझा धारणा बनाएर कार्यान्वयन गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कतिपय विषयहरुमा सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाएर अगाडी बढ्ने उच्चस्तरको राजनीतिक संस्कृतिको विकास गर्नै पर्दछ । अन्यथा प्राप्त भएको राजनीतिक उपलब्धिबाट देश र जनता लाभान्वित नहुने मात्रै होइन । लोकतान्त्रिक राजनीतिक प्रणालीले आलोचनाको भागिदार बन्नुपर्दछ । त्यसैले राजनीतिक दलहरुले यस विषयमा समेत बेलैमा ध्यान दिनुपर्दछ । हाम्रा निकट छिमेकी मित्रराष्ट्रहरु भारत र चीनले अभुतपूर्व सामाजिक, आर्थिक विकास गरिरहेका छन् । यो हाम्रा निम्ति खुशी र प्रेरणाको विषय पनि हो । यी दुई मुलुकसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्दछ ।’ पूर्वराष्ट्रपति भण्डारीले आफू राष्ट्रपतिको जिम्मेवारीमा रहँदा संवैधानिक राष्ट्रपतिको भुमिका जे हुनुपर्ने हो सोही अनुरुपको काम गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू