अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

जातीय विभेद घटनाका दाेषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई आयाेगकाे आग्रह

बिआरटीनेपाल २०८० चैत ८ गते ५:४४ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदका घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।‘छुवाछूत तथा जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार बनौँ’ भन्ने मूल नाराका साथ आज ५९ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइँदै छ । दिवसको अवसरमा आयोगले प्रेस विज्ञप्ति प्रकाशित गर्दै समाजमा घट्ने गरेका जातीय विभेद तथा छुवाछुतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । साथै समाजमा कायम रहेको विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन पनि राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था तथा नागरिकलाई समेत आयोगले अनुरोध गरेको छ ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रङ्गभेदविरुद्ध प्रदर्शन दबाउन खोज्दा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको ज्यान गएको थियो । यस विषयमा विश्वभर आवाज उठेपछि संयुक्त राष्ट्र सङ्घबाट सन् १९६५ मार्च २१ मा सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जारी भएको थियो । यसै सन्दर्भमा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको रूपमा मनाउन शुरु गरिएको हो । आयोगले नेपालमा पनि छुवाछुत तथा जातीय भेदभावविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू