अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

लगानी कर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धिहुने क्षेत्रमा लगानी गर्नुस् : अर्थमन्त्री पुन

बिआरटीनेपाल २०८० चैत ४ गते ६:४५ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ । आइतवार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो निर्देशन दिनुभएको हो । उहाँले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहो¥याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिनुभयो ।

अर्थमन्त्री पुनले लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताउनु भयो । उहाँले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको बताउनु भयो ।उहाँले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताउनु भयो । उहाँले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताउनु भयो । पूर्ववर्ती अर्थमन्त्रीहरुले शुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने पनि बताउनुभयो ।

‘कोषका साथीहरुले आफैँ जवाफदेही भएर काम गर्नुपर्छ । हामीभित्र केही कमी भए समीक्षा गरौँ । कतै ठूला ऋण लगानी गर्दा कमजोरी भएको भए अब नगर्ने, आलोचना गर्ने, दुनियाँ बदनाम गरेर हिँड्ने भन्दा कहाँ कमी भयो, असल नियतले गरेको हुनुपर्छ, कानूनसम्मत गरेका निर्णय भन्ने मान्नुपर्छ । परिस्थिति बदलियो, कमी भयो, त्यस्तो गल्ती दोहोरिन दिनु हुँदैन । पूर्ववर्ती अर्थमन्त्रीहरुका राम्रा काम नीतिहरुलाई निरन्रता दिनुपर्छ, म दिन्छु, प्रतिवद्धता छ । अहिले आर्थिक रुपले शिथिलता छ । यो कोषले लक्षित गरेअनुसारका अलि ठूला पूर्वाधारका योजनाहरुमा लगानी गर्नुस् । दीर्घकालीन पूर्वाधार निर्माण होला, अलि ठूला आर्थिक वृद्धिका क्षेत्रहरु, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुहोस् । यसमा योगदान कर्ताहरुको पैसा नडुबोस्, विज्ञ साथीहरुले हेर्नुस् । त्यो हाम्रो जिम्मेवारी हो ।’ अर्थमन्त्री पुनले भन्नुभयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धिकरण जरुरी रहेको बताउनु भयो । उहाँले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धिकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले प्रशासन संयन्त्रमा पनि शुद्धिकरण जरुरी रहेको बताउनु भयो । उहाँले प्रशासन संयन्त्रको शुद्धिकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताउनुभयो ।

अर्थमन्त्री पुनले भन्नुभयो, ‘राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धिकरण जरुरी छ, हामी आफैँले ठानेका छाँै । आम जनसमुदायले ठानेको छ । हाम्रो प्रशासन संयन्त्रमा शुद्धिकरण जरुरी छ,आजको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ ।’ अर्थमन्त्री पुनले विगतका राम्रा कामको सम्मान गर्दै भएका कमजोरीलाई सच्याएर अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया