अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

फिल्मकर्मी सात महिला सम्मानित

बिआरटीनेपाल २०८० फागुन २४ गते ४:४७ मा प्रकाशित

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली फिल्ममा योगदान पुर्याउने सात महिला फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गर्नुभयो । अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राणा, प्राविधिक ऋतु राना, एक्सन–कोरियोग्राफर किरण दाहाल र कला पत्रकार शारदा थापालाई सम्मान गरिएको हो। उनीहरुलाई सम्मानसहित नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो।

राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएलगत्तै महिला फिल्मकर्मीलाई सम्मान गर्न मन्त्री शर्मा बोर्डको चावहिलस्थित कार्यालयमा पुग्नुभएको थिो ।उहाँले फिल्मकर्ममा निरन्तर क्रियाशील महिलालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कुनै समय अभिनय गर्न घरबाट निस्कन कठिन हुने महिला अहिले फिल्मका विभिन्न विधामा सक्रिय हुनु गौरवको कुरा रहेको मन्त्री शर्माको भनाइ थियो। ‘अहिले छलफलमा रहेको चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति लगायतका निकायमा बलियो उपस्थिति गराउने छ। त्यसले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ,’ शर्माले भन्नुभयो ।

निर्माण तयारीमा रहेको ऐनले ती संस्थामा महिलाको सहभागिता अनिवार्य गराउने मन्त्री शर्माको भनाइ थियो। अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फिल्मकर्मीलाई प्रोत्साहन गर्न अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने आशा पनि उहाँले व्यक्त गर्नुभयो । त्यसैगरी विकास बोर्डका अध्ययक्ष भुवन केसीले चलचित्र क्षेत्रमा काम गरिरहेका स्रष्टा कलाकारलाई सम्मान गर्न पाएको खुसी व्यक्त गर्नुभयो। उहाँले सबैलाई धन्यवाद दिदै भन्नुभयो, महिला चलचित्रकर्मी र यस क्षेत्रमा कृयाशिल महिलाहरुको योगदानलाई चलचित्र बिकास बोर्ड र नेपाल सरकारले कम आक्न मिल्दैन। त्यसैले उहाँहरुको सम्मान र कदरका लागि बोर्डले यसै बर्षबाट नारी दिवसको अवसर पारेर ७ जना महिला चलचित्रकर्मी र चलचित्रका विधामा सकृय महिलाहरुलाई थोरै भएपनी (२५ हजार) नगदसहित सम्मान कार्यक्रमको शुरु गरेका छौं। सम्मानित महिला चलचित्रकर्मी र सबैमा हार्दिक बधाई ज्ञापन गर्दछु।

उक्त अवसरमा ‘चलचित्रमा नारी’ विषयमा छलफल समेत गरिएको थियो। ‘महिला सशक्तीकरणमा महिला चलचित्रकर्मीको भूमिका- ‘हिजोआज र भोलि’ विषयमा विमर्श गरियो। उक्त सत्रमा गौरी मल्ल, झरना थापा, केकी अधिकारी र निर्देशक रक्षा सिंह राणाले छलफल गर्नुभएको थियो। अर्को संवादको विषय ‘नेपाली चलचित्रको सुरुवाती अवस्था, चलचित्र क्षेत्रमा महिलाको समस्या र चुनौती विषय’ छलफल गरियो। यो सत्रमा अभिनेत्री भुवन चन्द, करिश्मा मानन्धर र शिल्पा मास्केले छलफल गर्नुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव रामहरि सुवेदी, चलचित्र विकास बोर्डका सदस्यहरू रवि अधिकारी, राजु केसी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया