अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

यस वर्षको हिउँदमा २१ प्रतिशतमात्रै पानी पर्‍याे, आजदेखि ‘प्रि–मनसुन’ शुरु

बिआरटीनेपाल २०८० फागुन १८ गते ५:०६ मा प्रकाशित

यस वर्षको हिउँदयाममा औसतको २१ प्रतिशतमात्रै पानी परेकाे छ । नेपालमा डिसेम्बर १ देखि फेब्रुअरी २९ तारिख अर्थात् मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनालाई हिउँदयाम मानिन्छ ।हिउँदयाममा औसतमा ६० दशमलव एक मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्ष १२ दशमलव पाँच मिलिमिटरमात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गएको वर्ष बितेका ३० वर्षमै सुक्खा हिउँद भएकोमा यो वर्ष गएको वर्षको १२ दशमलव नौ मिलिमिटरभन्दा पनि कम वर्षा भएको हो ।

विभागले यो वर्षको हिउँदमा औसतभन्दा धेरै पानी पर्ने अनुमान गरेको थियो । यस वर्ष नेपालमा हिउँदे वर्षा गराउने प्रणाली भूमध्य सागरबाट उत्पत्ति भए पनि जलवाष्पसहितको वायुलाई नेपालसम्म ल्याइपुर्‍याउने अर्को प्रणाली सक्रिय नभएका कारण कम पानी परेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।यस वर्षको हिउँदमा देशभरि औसतको तुलनामा कम पानी परेकोमा पश्चिमको तुलनामा पूर्वी तराईमा कम पानी पर्‍याे । नेपालमा पछिल्ला वर्षहरूमा हिउँद सुक्खा हुन थालेकाे विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

२०६२ सालपछिका छ हिउँदमा मात्रै सरदरभन्दा बढी पानी परेको छ । यसपालि हिउँदे वर्षा कम हुँदा हिउँदे बाली सप्रिन पाएन । खोलानालामा पानीको बहाव समेत घट्दा बिजुली उत्पादन घटेको विद्युत् उत्पादकहरूले बताएका छन् । हिउँदमा वर्षा कम हुँदा पानीका स्रोतहरू सुक्ने, जमिन सुक्खा बन्ने लगायतका समस्या हुने मौसमविद् पोखरेल बताउनुहुन्छ । यस्तै हिउँदमा पानी कम पर्दा डढेलोको जोखिम पनि धेरै हुन्छ । यस्तै वायु प्रदूषण बढ्नेलगायतका कारण मानिसको स्वास्थ्यमा पनि नकारात्मक असर गर्ने विज्ञहरू बताउँछन् ।

नेपालमा आजदेखि प्रि–मनसुन शुरु भएको छ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहन्छ । प्रि–मनसुनमा दिउँसोपख मेघगर्जनरचट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ । यस्तै अबका तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन माैसमविद्काे आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू