अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

लघुवित्त पीडितले संसद् भवन परिसरभित्रै पुगेर प्रदर्शन गरे

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:१७ मा प्रकाशित

लघुवित्त पीडितहरूले सङ्घीय संसद् भवन परिसरभित्रै प्रदर्शन गरेका छन् । आज दिउँसो संसद् बैठक चलिरहेका बेला लघुवित्त पीडितहरू संसद् भवन परिसरभित्रै पुगेर नाराबाजी गरेका हुन् ।जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू सङ्घीय संसद् भवन परिसरमा प्रवेश गरेका हुन् । उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ ।

संसद् भवन परिसरमा विशेष प्रवेश पास लिएर मात्रै प्रवेश दिने व्यवस्था छ । प्रवेश गर्ने व्यक्तिहरूलाई पनि सुरक्षा जाँच हुन्छ । संसद् भवन परिसरमा तीन वटा ढोका छन् । नयाँ बानेश्वर चोकतर्फको दुई नम्बर गेटबाट उनीहरू प्रवेश गरेको प्रहरीले जानकारी गराएको संसद् सचिवालयले जनाएको छ । दुई नम्बर गेट सांसदहरूको आवतजावतका लागि मात्रै खुला हुन्छ । सांसदहरू बाहिरिने क्रममा पूरै ढोका खोलिएको र अचानक महिलाहरू बलपूर्वक भित्र पसेका प्रहरीले जानकारी गराएको सचिवालयले जनाएको छ । गेटमा पुरुष प्रहरी मात्रै रहेको र महिलालाई रोक्न महिला प्रहरी बोलाउँदासम्म उनीहरू भित्र पसेका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले लघुवित्त पीडितहरू संसद् भवन परिसरमा प्रवेश गरेको बारेमा छानबिन गर्न काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेश घिमिरे सदस्य रहेको समिति गठन गरेको र समितिको प्रतिवेदनपछि थप कदम चाल्ने प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले बताउनुभयो ।

प्रदर्शनकारीहरूलाई संसद् भवनभित्र जानबाट भने संसद् भवनको भित्री सुरक्षामा खटिएका मर्यादापालकले रोकेका थिए । संसद् भवन परिसरमा नाराबाजीपछि उनीहरूले त्यहीँ सुतेर प्रदर्शन गरेका थिए । लघुवित्तबाट लिइने महँगो ब्याज घटाउनुपर्ने माग गर्दै विगत एक हप्तादेखि काठमाण्डौको विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरू देशका विभिन्न ठाउँबाट हिँडेरै काठमाण्डौ आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू